काठमाडौं। सञ्चालन मापदण्ड मिचेको र विदेश अध्ययनका नाममा सर्वसाधारणलाई ठगी गरेको शङ्कामा प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न ६९ वटा शैक्षिक परामर्श केन्द्र (एजुकेसन कन्सल्टेन्सी) हरूमा एकैदिन आकस्मिक छापा मारेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानमा शुक्रबार बिहानैदेखि चलाएको विशेष अपरेसनका क्रममा मापदण्ड विपरीत सञ्चालनमा रहेका ६८ वटा कन्सल्टेन्सीका सञ्चालक तथा प्रतिनिधिहरूलाई नियन्त्रणमा लिएको छ। प्रहरीको टोलीले पुतलीसडक, चाबहिल, गोंगबु, बानेश्वर र ललितपुरको कुमारीपाटी क्षेत्रमा रहेका कन्सल्टेन्सीहरूलाई मुख्य निशाना बनाएको थियो, जसमा सबैभन्दा बढी पुतलीसडक क्षेत्रका फर्महरू कारबाहीमा परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार उपत्यकाका ९५ वटा शैक्षिक परामर्श केन्द्रहरूमाथि लामो समयदेखि गोप्य अनुसन्धान भइरहेको थियो। सोही अनुसन्धानका क्रममा अवैधानिक र शङ्कास्पद तवरले चलेको पाइएका केन्द्रहरूमाथि शुक्रबार ठोस एक्सन लिइएको हो।
पछिल्लो समय उच्च शिक्षाका लागि विदेश पठाइदिने बहानामा मोटो रकम असुल्ने, भिसा अस्वीकृत भएपछि रकम फिर्ता नदिने, विद्यार्थीलाई नक्कली अफर लेटर उपलब्ध गराउने तथा अनुमति बिना नै अनधिकृत रूपमा भाषा कक्षाहरू सञ्चालन गर्ने गुनासो र उजुरीहरू प्रहरीमा व्यापक रूपमा बढ्दै गएपछि प्रहरीले आफ्नो निगरानी कडा पारेको हो।
विशेष गरी जापान, कोरिया, अस्ट्रेलिया, क्यानडा र युरोपेली मुलुकहरूमा विद्यार्थी पठाइदिने भन्दै ठुलो रकम असुल्ने तर आवश्यक कानुनी प्रक्रिया पूरा नगर्ने कन्सल्टेन्सीहरूमाथि प्रहरीले आफ्नो अनुसन्धान केन्द्रित गरेको छ। शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका २०७३ मा स्पष्ट रूपमा उल्लेखित मापदण्ड अनुसार शिक्षा मन्त्रालय वा प्रदेश सरकारबाट इजाजत तथा नवीकरण नगराई हचुवाको भरमा पूर्वतयारी र भाषा कक्षा चलाउने कम्पनीहरू कारबाहीको दायरामा आएका हुन्।
प्रहरीले पक्राउ परेका कन्सल्टेन्सीहरूको आवश्यक अनुमति पत्र, कर विवरण, विद्यार्थीसँग गरिएको सम्झौता, बैंक कारोबार र भिसा प्रक्रिया सम्बन्धी सम्पूर्ण कागजातहरूको सुक्ष्म परीक्षण गरिरहेको छ।
अनुसन्धान सकिएपछि कसुर पुष्टि भएका कन्सल्टेन्सी र तिनका सञ्चालकहरू विरुद्ध ठगी, गैरकानुनी वित्तीय कारोबार तथा शिक्षा सम्बन्धी कानुन अन्तर्गत कडा मुद्दा चलाउने प्रहरीको तयारी छ। यसैबिच, अपराध अनुसन्धान कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै कुनै पनि शैक्षिक परामर्श केन्द्रहरूबाट ठगीमा परेका वा मर्कामा परेका विद्यार्थी तथा सर्वसाधारणलाई तत्काल आफ्नो कार्यालयमा आएर प्रमाणसहित निवेदन दिन अपिल गरेको छ।
प्रहरीको कारबाहीमा पर्नेहरूमा बानेश्वरको एकता ग्लोबल र इन्टर ग्लोबल, अल्पार, ग्लोबल ग्लोरी, रोयल सूर्य, ब्रेन ब्रिज, सावित्री अब्रोड, इडब्ल्युसी, ब्रेनी इन्टरनेसनल, अक्स्फोर्ड स्मार्ट, गुल्मोहर एडुकेयर, ब्लूम अब्रोड, अक्सब्रिज फाउन्डेसन र कुमारीपाटीको ज्ञानमार्ग एजुकेसन लगायतका दर्जनौँ कन्सल्टेन्सीहरू रहेका छन्।