सातामा दुई दिन बिदा: विद्यालयको पठनपाठन सञ्चालनका लागि नयाँ कार्यविधि

सातामा दुई दिन बिदा: विद्यालयको पठनपाठन सञ्चालनका लागि नयाँ कार्यविधि

काठमाडौं। शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठनपाठन सञ्चालन र कार्यघण्टा मिलानका लागि नयाँ व्यवस्थापन गरेको छ।

इन्धनको सहजताका लागि नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २२ गतेको निर्णयअनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा सातामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णयपछि केन्द्रले नयाँ व्यवस्थापन गरेको हो।

नयाँ व्यवस्थापनअनुसार विद्यालय सञ्चालन हुने पाँच दिन तथा पठनपाठन हुने अवधिसमेत समायोजन गर्न पाठ्यक्रम विकास केन्द्र, स्थानीय तह, शिक्षक, विद्यालय र सरोकार भएका पक्षलाई सास्ती भएको छ।

समायोजनको उक्त आवश्यकतालाई ध्यान दिएर शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा भएको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को यही वैशाख ११ गतेको बैठकबाट गठित कार्यदलको सुझावका आधारमा पाठ्यक्रम स्वीकृत गरिएको छ । उक्त स्वीकृत पाठ्यक्रमले तोकेअनुसार कार्यघण्टा मिलान गरिएको केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिए।

सरकारबाट निर्धारित सार्वजनिक बिदा, शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ अनुसार दिइएका बिदाबाहेकको व्यवस्था, प्रदेश र स्थानीय तहअन्तर्गत दिइने बिदासमेत हुँदा वार्षिक कार्यघण्टा पूरा गर्न विद्यालयलाई चुनौती हुँदै आएको छ।

शिक्षा नियमावली, २०५९ को नियम ८५ (क) को उपनियम ७ मा विद्यालयको एक शैक्षिकसत्रमा कम्तीमा २२० दिन पठापाठन हुनेगरी व्यवस्था रहेको छ भने सोही नियमावलीको नियम ८५ (क) को उपनियम ९ मा बडादसैँको घटस्थापनादेखि पूर्णिमासम्म विद्यालय बन्द रहने व्यवस्था गरिएको छ।

नियम ५८ उपनियम ३ मा एक शैक्षिकसत्रमा दिइने बिदा वा बन्द बिदा बढीमा ४५ दिन रहने व्यवस्था छ। पाठ्यक्रममा तोकिएको विषयवस्तु, त्यसका लागि छुट्याइएको पाठ्यभार तथा विद्यालयले सञ्चालन गर्ने अतिरिक्त क्रियाकलापलाई समेत समन्वयिक व्यवस्थापन गर्दै अघि बढ्ने गरी केन्द्रले निर्देश गरेको छ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ ले प्रारम्भिक बालविकास तथा शिक्षाका लागि एक शैक्षिकसत्रमा वार्षिक रूपमा ७६५ घण्टा दैनिक सिकाइ क्रियाकलाप र विषयगत सिकाइ क्रियाकलाप सञ्चालन हुने भनेको छ । वार्षिक २६५ घण्टा मनोरञ्जन, बाह्य खेल, आराम तथा खाना खाने समय हुने र उक्त समयमा बालबालिकाले प्रारम्भिक बालविकास केन्द्रमा बिताउने पूरा अवधिलाई मानिएको छ।

विद्यालय शिक्षाका सबै कक्षाका लागि एक शैक्षिक वर्षमा कम्तीमा २०५ दिन पठनपाठन सञ्चालन हुने, कक्षा १ देखि ३ सम्म जम्मा २६ पाठ्यघण्टा अर्थात् वार्षिक ८३२ कार्यघण्टाको पठनपाठन गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापन गरिएको महानिर्देशक पौडेलले बताए। उनका अनुसार कक्षा ४ देखि ७ सम्म जम्मा ३२ पाठ्यघण्टा अर्थात् वार्षिक एक हजार २४ कार्यघण्टा र कक्षा ९, १०, ११ र १२ मा कम्तीमा ३७ पाठ्यघण्टा अर्थात् एक हजार १८४ कार्यघण्टादेखि बढीमा ४२ पाठ्यघण्टा अर्थात् एक हजार ३४४ कार्यघण्टा पठनपाठन गर्नुपर्ने हुन्छ।

पठनपाठन सञ्चालनका लागि खर्च भएको ३२ घण्टाको समयावधिलाई एक पाठ्यघण्टा मानिने केन्द्रका महानिर्देशक पौडेलले जानकारी दिए। तोकिएको पाठ्यघण्टा नघट्नेगरी विद्यालयको समयावधि निर्धारण गरी कक्षा सञ्चालन गर्दा सामान्यतः पाठ्यघण्टा गणना एक घण्टाको एकाइमा गरिने केन्द्रले जनाएको छ।

राष्ट्रिय पाठ्यक्रम प्रारूपअनुसार २०५ दिन विद्यालय सञ्चालन गर्दा न्यून हुन आउने पठनपाठन दिन सङ्ख्या २१ र शिक्षा नियमावलीको नियम ८५ अनुसार २२० दिन विद्यालय खुल्ने व्यवस्थाअनुसार न्यून हुने दिन सङ्ख्या ३६ हुन आउँछ। अपुग भएर बाँकी हुन आउने २१८ दिनको समयमध्ये दैनिक १५ मिनेट प्रार्थना र २० मिनेट खाजा समय छुट्याउँदा छ घण्टाको विद्यालय समयबाट पठनपाठनका लागि दैनिक रूपमा प्राप्त हुने समयावधि पाँच घण्टा २५ मिनेटका आधारमा वार्षिक पठनपाठनका लागि उपलब्ध समय ७५८ घण्टा हुनेछ।

यसरी अपुग हुने पाठ्यघण्टालाई विद्यालय समयभन्दा अतिरिक्त समयमा गरिने परियोजना तथा प्रयोगात्मक कार्यलगायत सिकाइसम्बद्ध क्रियाकलापलाई विषयगत तथा बहुविषयगत सिकाइ उपलब्धिसँग आबद्ध गर्ने र यसरी सिकाइका लागि उपयोग हुने समयलाई वार्षिक कार्यघण्टामा समावेश गर्न केन्द्रले निर्देेश गरेको केन्द्रका महानिर्देशक पौडेलले बताए।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालयमा सातामा दुई दिन बिदा दिने सरकारको निर्णयलाई आफूहरूले समर्थन गर्दै कार्यान्वयनका लागि जोड दिएको बताए। उनले शिक्षक-कर्मचारीको पेसागत हितका विषयमा निर्णय लिँदा भने आफूहरूसँग परामर्श गर्नुपर्ने माग गरे।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का महासचिव आरबी कटवालले आइतबार पनि विद्यालय बिदा दिने निर्णयलाई आफूहरूले कटिबद्धताका साथ लागू गरेको जनाउँदै पाठ्यक्रमले तोकेको कार्यघण्टा मिलानका लागि कतिपय सार्वजनिक बिदामा पनि पढाउने र वार्षिक परीक्षापछिको अवधिको समयलाई उपयोग गर्न सकिने सुझाव दिए। सरकारको उक्त निर्णयको अवज्ञा गरेर आइतबार पनि कक्षा सञ्चालन गर्ने विद्यालयको जिम्मेवारी आफूहरूले नलिने महासचिव कटवालले उल्लेख गरे।

छुटाउनुभयो कि ?