नेपाल पछि बेलायतमा पनि लकडाउन

नेपाल पछि बेलायतमा पनि लकडाउन

बेलायत : ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले तत्काल लाग हुनेगरी लकडाउनको घोषणा गरेका छन्। बेलायतमा कोरोनाका संक्रमित बढ्दै गएपछि तत्काल लकडाउनको घोषणा गरेका हुन्। नागरिकहरू घरभित्रै रहून् भनेर दुई जनाभन्दा धेरैको जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ।

तत्काल लागु हुनेगरी अब त्यहाँ मानिसहरूले आवश्यक किनमेल, दैनिक व्यायाम, औषधोपचार तथा अत्यावश्यक काममा जान आउनबाहेक घरबाहिर निस्किन पाउनेछैनन्। प्रधानमन्त्री जोन्सनले यी नियम अटेर गर्नेविरुद्ध प्रहरीले जरिबाना गराउन सक्ने पनि बताए। जर्मनीमा जस्तै यूकेमा पनि घरबाहिर दुई जनाभन्दा धेरैको जमघटलाई निषेधित गरिएको छ। कोरोनाभाइरस सङ्क्रमणका कारण ब्रिटेनमा गत २४ घण्टामा थप ५५ जनाको ज्यान गएको छ।

त्यहाँ कुल ३३५ जनाले ज्यान गुमाएका छन्। युरोपमा सबभन्दा धेरै प्रभावित इटलीमा बितेको २४ घण्टामा त्यहाँ ६०० जनाभन्दा बढीको ज्यान गएको छ। उक्त सङ्ख्या गत दुई दिनको भन्दा कम हो। इटलीमा कोरोनाभाइरस सङ्क्रमणका कारण हालसम्म ६,००० जनाभन्दा धेरैको ज्यान गइसकेको छ। सर्वाधिक बिरामी भेटिएको चीनमा भन्दा इटलीमा झन्डै दोबर सङ्ख्यामा मानिसहरूले ज्यान गुमाएका छन्।