सरकारद्वारा कार्यविभाजन नियमावली स्वीकृत, दुई सांसद लगानी व्यवस्थापन समितिमा मनोनित

सरकारद्वारा कार्यविभाजन नियमावली स्वीकृत, दुई सांसद लगानी व्यवस्थापन समितिमा मनोनित

काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक र कानुनी सुधारका दूरगामी महत्त्वका निर्णयहरू गरेको छ।

बैठकले मन्त्रालयहरूको पुनर्गठन र कार्यक्षेत्र स्पष्ट पार्ने उद्देश्यले 'नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३' स्वीकृत गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार यो नयाँ नियमावली लागू भएसँगै संघीय मन्त्रालयहरूको संख्या र कार्य जिम्मेवारीमा व्यापक हेरफेर हुनेछ।

बैठकले सूचना प्रविधिको क्षेत्रलाई थप व्यवस्थित र सुदृढ बनाउन 'विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९' मा आवश्यक संशोधन गर्ने प्रस्तावलाई पनि स्वीकृति प्रदान गरेको छ।

यसैगरी, भूमिसम्बन्धी विद्यमान कानुनी जटिलताहरूलाई सम्बोधन गर्न र भूमि व्यवस्थापनलाई प्रभावकारी बनाउन 'भूमिसम्बन्धी २१ औँ संशोधन नियमहरू, २०८३' समेत स्वीकृत गर्ने निर्णय भएको छ। यी निर्णयहरूले सरकारी कार्यसम्पादनमा पारदर्शिता र चुस्तता ल्याउने सरकारको विश्वास छ।

यसैबीच, सरकारले 'सरकारी लगानी व्यवस्थापन समिति' लाई पूर्णता दिन दुईजना प्रतिनिधि सभा सदस्यहरूलाई सदस्यमा मनोनयन गरेको छ।

मन्त्री तिमिल्सिनाका अनुसार बागलुङका सांसद सुशील खड्का र मुस्ताङका सांसद योगेश गौचन थकालीलाई समितिको सदस्यमा नियुक्त गरिएको हो। उनीहरूले सरकारी लगानीका आयोजनाहरूको अनुगमन र व्यवस्थापनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?