देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

देशभर पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ: नेपालमा हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको दोहोरो प्रभावका कारण मौसममा बदली देखिएको छ।

जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा अहिले नै हल्का वर्षा भइरहेको छ भने बाँकी भूभागमा आंशिक बदलीको अवस्था छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै मधेस प्रदेश र अन्य पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि हल्का वर्षा हुनसक्ने देखिएको छ।

विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका जिल्लाहरूमा हुरीबतास र असिनासहितको वर्षा हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मौसम बदली भई वर्षा र हिमपातको सम्भावना कायम रहनेछ। महाशाखाका अनुसार पहाडी र हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको क्रम जारी रहने पूर्वानुमान गरिएको छ।

छुटाउनुभयो कि ?