काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले मुलुकका विभिन्न क्षेत्रमा भइरहेको हात्ती तथा बाघको आतंकबाट नागरिकहरू असुरक्षित बनेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वन्यजन्तुको आक्रमणबाट सर्वसाधारण प्रताडित भइरहँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाइन्।
सांसद राना मगरले आफ्नो निर्वाचन क्षेत्र अर्जुनधारा नगरपालिका–२ का दिनेश पराजुली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएको जानकारी दिइन्। "आज हात्ती र बाघको आतङ्कले मानिसहरू प्रताडित छन्, सरकारले उचित लाइट र सुरक्षाको व्यवस्था गर्नुपर्छ," उनले भनिन्, "सुरक्षा निकायलाई पालेर मात्र राख्ने होइन, यस्ता घटना हुनुभन्दा अगावै जोखिमपूर्ण क्षेत्रमा परिचालन गरी नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्छ।"
यसैबीच, नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनअपेक्षाअनुसार आउन नसकेको टिप्पणी गरेका छन्। संसद् परिसरमै प्रतिक्रिया दिँदै नेता पुनले ‘जेनजी आन्दोलन’ पछिको सरकारले नयाँ ऊर्जा र क्रमभङ्गसहितको कार्यक्रम ल्याउने अपेक्षा गरिए पनि त्यो पूरा हुन नसकेको बताए।
विगतका राम्रा कार्यक्रमहरूलाई निरन्तरता दिइनु सकारात्मक भए पनि सरकारले पाएको पाँच वर्षको स्पष्ट जनमतको सदुपयोग गर्न नसकेको उनको तर्क थियो। "अस्थिरताका कारण विगतमा राम्रा कार्यक्रम कार्यान्वयन हुन पाउँदैनथे, यस पटक सरकारसँग त्यो सुविधा र समय दुवै छ," पुनले भने, "सरकारले आँट गरेर प्राथमिकताका आधारमा व्यवस्थित कार्यक्रम ल्याउनुपथ्र्यो, तर यो नीति तथा कार्यक्रम केवल निरन्तरतामा मात्र सीमित भयो।"