काठमाडौं। आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता बिहीबार बस्ने संघीय संसद्को बैठकमा पेश हुने भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मंगलबार अर्थ समितिको बैठकमा यसबारे जानकारी गराउँदै सरकारले बजेट निर्माणको तयारीलाई तीव्रता दिएको बताएका हुन्।
अर्थमन्त्री वाग्लेले संसदमा पेश हुने सिद्धान्त तथा प्राथमिकतामाथि सांसदहरूले दिने रचनात्मक सुझावहरूलाई अर्थ मन्त्रालयले आगामी बजेटमा उचित स्थान दिने प्रतिबद्धता समेत व्यक्त गरे।
समितिको बैठकमा बोल्दै उहाँले सरकारको हालै सार्वजनिक नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रका मुख्य विषयहरूसँग धेरै हदसम्म मेल खाने गरी ल्याइएको दाबी समेत गर्नुभयो।
विद्यमान कानुनी व्यवस्था अनुसार सरकारले वार्षिक बजेट सार्वजनिक गर्नुभन्दा कम्तीमा १५ दिन अगावै बजेटका सिद्धान्त तथा प्राथमिकताहरू सार्वजनिक गरी संसदमा छलफल गराउनुपर्ने प्रावधान रहेको छ।
सोही बमोजिम अर्थ मन्त्रालयले यसपटक समयमै प्राथमिकताहरू तय गरी संसदमा पेश गर्न लागेको हो। यस छलफलले बजेटलाई थप व्यावहारिक र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।