तेहरान। इस्लामिक गणतन्त्र इरानले संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्ध पालना गर्ने राष्ट्रहरूका विरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ।
इरानी सेनाले आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाको पक्ष लिने र इरानविरुद्धका प्रतिबन्धहरूलाई समर्थन गर्ने देशका जहाजहरूले 'स्ट्रेट अफ हर्मुज' पार गर्दा गम्भीर कठिनाइको सामना गर्नुपर्ने बताएको हो।
यो चेतावनी यसै महिनाको सुरुमा अमेरिकाले इरानी हितका विरुद्ध लगाएको नयाँ प्रतिबन्ध र जलमार्ग प्रयोग गर्दा तेहरानलाई भुक्तानी नगर्न जहाजहरूलाई दिएको निर्देशनको प्रतिक्रियास्वरूप आएको हो।
इरानी सैनिक अधिकारी मोहम्मद अक्रामनियाले आधिकारिक समाचार संस्था 'इर्ना' मार्फत बोल्दै हर्मुज जलमार्गमा नयाँ कानुनी र सुरक्षा प्रणाली स्थापना गरिएको जानकारी दिएका छन्। उनका अनुसार अबदेखि सो जलमार्ग भएर जाने कुनै पनि जहाजले इरानी अधिकारीहरूसँग अनिवार्य समन्वय गर्नुपर्नेछ।
यो नयाँ प्रणालीले इरानलाई आर्थिक, सुरक्षा र राजनीतिक रूपमा थप मजबुत बनाउने दाबी गरिएको छ। इरानले यो रणनीतिक जलमार्गलाई आफ्नो नियन्त्रणमा राख्दै विदेशी हस्तक्षेपका विरुद्ध सुरक्षा कवचका रूपमा प्रयोग गर्न खोजेको देखिन्छ।
यसैबीच, इरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीले सामाजिक सञ्जाल 'एक्स' मार्फत बहराइन जस्ता साना राष्ट्रहरूलाई अमेरिकी प्रस्तावको पक्ष नलिन सचेत गराएका छन्।
विश्वको कुल इन्धन ढुवानीको करिब २० प्रतिशत हिस्सा ओगट्ने यस महत्त्वपूर्ण जलमार्गमा अवरोध सिर्जना भएमा त्यसले गम्भीर परिणाम निम्त्याउने उनको तर्क छ। इरानले हालैका दिनहरूमा यो मार्ग प्रयोग गर्ने जहाजहरूबाट पहिलो पटक राजस्व संकलन समेत सुरु गरिसकेको छ।
अमेरिका र बहराइनले हर्मुज जलमार्गमा ढुवानी प्रतिबन्ध रोक्न आग्रह गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा प्रस्ताव लैजाने तयारी गरिरहेका बेला इरानको यो कडा टिप्पणी आएको हो।
यद्यपि, इरानले सुरक्षा परिषद्मा आउने यस्ता कुनै पनि प्रस्तावलाई आफ्नो पक्षधर मित्र राष्ट्रहरूको सहयोगमा 'भिटो' मार्फत रोक्ने तयारी गरेको सङ्केत दिएको छ। इन्धन आपूर्ति र विश्व व्यापारका लागि मेरुदण्ड मानिने यो जलमार्गमा बढ्दो तनावले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा नयाँ तरङ्ग पैदा गर्न सक्ने देखिएको छ।