काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा मंगलबार सार्वजनिक गर्ने तयारी गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बोर्डकी सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार प्राविधिक समस्या नआए मंगलबारसम्म नतिजा सार्वजनिक गरिनेछ।
“सबै तयारी पूरा भइसकेको छ। प्राविधिक रूपमा कुनै समस्या नआए मंगलबारसम्म नतिजा प्रकाशित गर्छौं,” उनले भने।
यस वर्षको एसईई परीक्षा गत चैतको दोस्रो सातादेखि सञ्चालन भएको थियो। परीक्षा सम्पन्न भएको करिब एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो।
यस वर्ष कुल ५ लाख १२ हजार ४ सय २१ परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जना सहभागी भएका थिए।
लिङ्गगत विवरण अनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य परीक्षार्थी सहभागी भएका थिए।
यस वर्ष देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी भएका थिए । साथै, केही केन्द्रबाट विदेशमा समेत परीक्षा सञ्चालन गरिएको थियो।