साउथ स्टार विजयले लिए तमिलनाडुको मुख्यमन्त्रीको सपथ

साउथ स्टार विजयले लिए तमिलनाडुको मुख्यमन्त्रीको सपथ

काठमाडौं । तमिलगा वेत्री कड़गम (टिभीके) का अध्यक्ष सी. जोसेफ विजयले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएका छन्। यसका साथै राज्यमा विगत करिब छ दशकदेखि जारी दुई प्रमुख द्रविड दलहरू डिएमके र एआइएडिएमकेको आलोपालो सत्तामा आउने क्रम समाप्त भएको छ।

तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले आइतबार विजयलाई पद तथा गोपनीयताको शपथ गराए। शनिबार २३४ सदस्यीय विधानसभामा १२० निर्वाचित विधायकको समर्थन प्राप्त गरेपछि विजयलाई सरकार गठनका लागि आमन्त्रण गरिएको थियो।

विजयले बिहान १० बजेपछि चेन्नईको नेहरू स्टेडियममा शपथ लिएका हुन्। उनीसँगै टिभीकेका केही वरिष्ठ नेताहरूसहित अन्य नौ जनाले पनि मन्त्री पदको शपथ लिएका छन्। विजयले कांग्रेसको सहयोगमा गठबन्धन सरकारको नेतृत्व गर्नेछन्। राज्यपालले विजयलाई मे १३ वा सोभन्दा अगावै विधानसभामा विश्वासको मत हासिल गर्न निर्देशन समेत दिएका छन्।

मन्त्री पदको शपथ लिने नौ जनामा ‘बुसी’ एन आनन्द, आधव अर्जुना, केजी अरुणराज, केए सेंगोट्टैयन, पी वेंकटरमणन, सीटीआर निर्मलकुमार, ए राजमोहन, टी. के. प्रभु र एस कीर्तना रहेका छन्।

पेरुम्बुर र तिरुची इस्ट दुवै क्षेत्रबाट निर्वाचित भएका विजयसहित चेन्नईबाट कुल पाँच जना मन्त्री बनेका छन्। यस्तै पश्चिमी क्षेत्रबाट दुई र दक्षिणी क्षेत्रबाट तीन मन्त्रीले प्रतिनिधित्व पाएका छन्। हालको मन्त्रिपरिषद्मा एक महिला र अनुसूचित जाति (एससी) समुदायका एक प्रतिनिधि समावेश छन्।

गत केही दिनदेखि जारी राजनीतिक अनिश्चितता शनिबार साँझ भिसीके र आइयुएमएलले पनि समर्थन दिएपछि समाप्त भएको थियो, जसले टिभीकेको पक्षमा १२० विधायक पुर्‍याएको थियो। त्यसपछि विजयले चेन्नईस्थित लोक भवनमा राज्यपालसँग भेट गरी कांग्रेस, सीपीआई, सीपीआई(एम), भिसीके र आइयुएमएलको समर्थन पत्र बुझाएका थिए।

हालैको विधानसभा चुनावमा टिभीकेले १०८ सिट जितेको थियो। यद्यपि, वास्तवमा यो संख्या १०७ हो, किनभने पार्टी अध्यक्ष विजय दुई सिटबाट निर्वाचित भएकाले उनले एउटा सिट छाड्नुपर्ने हुन्छ।

पार्टीलाई कांग्रेसका ५ विधायक र सीपीआई, सीपीआई(एम), भिसीके तथा आइयुएमएलका दुई–दुई विधायकको समर्थन प्राप्त छ। यी सबै दल डिएमकेको नेतृत्वमा रहेको सेक्युलर प्रोग्रेसिव अलायन्स (एसपीए) को हिस्सा बनेर चुनाव लडेका थिए।

टिभीकेलाई समर्थन गर्ने दलहरूमा कांग्रेसका ५ विधायक, सीपीआईका २ विधायक, सीपीआई (एम) का २ विधायक, आईयुएमएलका २ विधायक र भिसीकेका २ विधायक छन् ।

कांग्रेसले चुनावपछिको गठबन्धनका लागि डिएमकेसँगको सम्बन्ध तोडेको भए तापनि अन्य दलहरूले भने सरकार गठनका लागि मात्र टिभीकेलाई समर्थन गरेको र राजनीतिक रूपमा आफूहरू डिएमके नेतृत्वकै गठबन्धनमा रहने बताएका छन्। सीपीआई र सीपीआई(एम) ले पहिले नै समर्थन घोषणा गरिसकेका थिए भने टिभीकेलाई भिसीकेको निर्णयको पर्खाइ थियो।

टिभीकेका १०७ विधायकहरूमध्ये ९३ जना पहिलोपटक विधायक बनेका हुन्, जसमा स्वयं पार्टी प्रमुख विजय पनि पर्छन्। निर्वाचित टिभीके नेताहरूमध्ये सबैभन्दा अनुभवी नेतामा केए सेंगोट्टैयन छन्, जो लामो समयसम्म एआइएडिएमकेका वरिष्ठ नेता रहेका थिए र जयललिता तथा एडप्पडी के पलानीस्वामी नेतृत्वको सरकारमा मन्त्री भइसकेका छन्।

फेब्रुअरी २०२४ मा स्थापना भएको टिभीके दुई वर्षभन्दा केही जेठो पार्टी हो। यसले आफ्नो पहिलो चुनावमै शानदार राजनीतिक परिवर्तन ल्याउँदै १०८ सिट जित्न सफल भयो। विजयले पार्टीलाई एक धर्मनिरपेक्ष संगठनको रूपमा प्रस्तुत गरेका छन्।

पार्टीले समाज सुधारक पेरियार, पूर्व मुख्यमन्त्री कामराज, संविधान निर्माता डा. भीमराव अम्बेडकर, स्वतन्त्रता सेनानी वेलु नच्चियार र गान्धीवादी समाजसेवी अन्जलाई अम्माल जस्ता व्यक्तित्वहरूलाई आफ्नो आदर्श र प्रतीकका रूपमा प्रमुख स्थान दिएको छ।

विजयको पूरा नाम जोसेफ विजय चन्द्रशेखर हो। उनको जन्म २२ जुन १९७४ मा चेन्नईमा भएको थियो। उनका पिता एस.ए. चन्द्रशेखर तमिल सिनेमाका प्रख्यात निर्देशक हुन् भने आमा शोभा गायिका हुन्। फिल्मी वातावरणमा हुर्किएका विजयले सानै उमेरदेखि अभिनय सुरु गरेका थिए। उनका पिताले उनलाई ‘वेट्री’ फिल्ममा बाल कलाकारको रूपमा अवसर दिएका थिए।

फेब्रुअरी २०२४ मा विजयले औपचारिक रूपमा राजनीतिमा कदम राख्दै आफ्नो पार्टी तमिलगा वेत्री कड़गम (टिभीके) को घोषणा गरे। टिभीकेको पहिलो र्‍याली २७ अक्टोबर २०२४ मा तमिलनाडुको विल्लुपुरम जिल्लाको विक्रवन्डीमा भएको थियो, जहाँ विशाल जनसहभागिता रहेको थियो।

मञ्चबाट विजयले जनतालाई विभाजित गर्ने राजनीति गर्ने पार्टीहरूको कडा आलोचना गर्दै त्यस्ता शक्तिहरू वैचारिक रूपमा आफ्नो पार्टीको विरोधी रहेको बताएका थिए। उनले द्रविड मोडलको नाममा धोखाधडी गरेको र “एउटा परिवारले राज्य लुटेको” आरोप समेत लगाएका थिए।

राजनीतिमा आउनुअघि विजयको परिवारमा पनि विवाद देखिएको थियो। उनका पिताले पहिले नै ‘अल इन्डिया थलपति विजय मक्कल इयक्कम’ नामक पार्टी बनाएका थिए, जसलाई लिएर बाबु–छोराबीच मतभेद सार्वजनिक भएको थियो।

विजयले आफ्ना आमाबुबा सहित ११ जना विरुद्ध मुद्दा दायर गर्दै आफ्नो नाम कुनै पनि चुनावी गतिविधि वा भीड जम्मा गर्न प्रयोग नगर्न माग गरेका थिए। यद्यपि, चुनावी नतिजा आएपछि उनका पिताले विजयलाई बधाई दिएका थिए र विजय पनि आफ्ना पितालाई भेट्न घर पुगेका थिए।