​स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुरधाममा स्वास्थ्यकर्मीको प्रदर्शन: दरबन्दी आह्वानमा विभेद गरिएको आरोप

​स्वास्थ्यमन्त्रीको राजीनामा माग्दै जनकपुरधाममा स्वास्थ्यकर्मीको प्रदर्शन: दरबन्दी आह्वानमा विभेद गरिएको आरोप

जनकपुरधाम सरकारले हालै सार्वजनिक गरेको स्वास्थ्य सेवाको दरबन्दीमा निश्चित पदहरूलाई मात्र समेटेको भन्दै जनकपुरधामका स्वास्थ्यकर्मीहरूले स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गरेका छन्।

शनिबार धनुषाका विभिन्न सरकारी तथा निजी अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट (HA), अनमी, ल्याब असिस्टेन्ट लगायतका स्वास्थ्यकर्मीहरूले मन्त्री मेहताको कार्यशैलीप्रति आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेका हुन्।

विभेदकारी दरबन्दीको विरोध जनकपुरधामका विभिन्न चोकहरूमा निकालिएको विरोध र्यालीमा सहभागीहरूले ‘स्वास्थ्यमन्त्री मुर्दावाद’, ‘निशा मेहता राजीनामा दे’, र ‘स्वास्थ्यकर्मीको अपमान बन्द गर’ जस्ता चर्का नाराबाजी गरेका थिए।

सरकारले दुई दिनअघि ३५ वर्षपछिकै ठूलो संख्यामा स्वास्थ्य क्षेत्रमा दरबन्दी आह्वान गरे पनि हेल्थ असिस्टेन्ट, ल्याब, रेडियोलोजी र सीएमए जस्ता प्राविधिक पदहरूमा शून्य दरबन्दी राखेपछि स्वास्थ्यकर्मीहरू आक्रोशित भएका हुन्।

आन्दोलित स्वास्थ्यकर्मीको तर्क प्रदर्शनमा सहभागी स्वास्थ्यकर्मी नवेश अधिकारीका अनुसार देशमा नर्सिङ र डाक्टरबाहेकका अन्य प्राविधिक जनशक्तिलाई सरकारले पूर्णतः उपेक्षा गरेको छ।

"देशभर प्रत्येक वर्ष ५३०० भन्दा बढी स्वास्थ्य प्राविधिकहरू उत्पादन हुन्छन्, तर दरबन्दी भने एउटा पनि खुलाइँदैन," अधिकारीले भने, "यदि रोजगारी नै नदिने हो भने यी विषयको पढाइ नै बन्द गरिदिए हुन्छ।" उनले स्वास्थ्यमन्त्री मेहताले मेडिकल माफियाहरूको प्रभावमा परेर यस्तो निर्णय गरेको र नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने मागसमेत गरे।

काठमाडौँ केन्द्रित आन्दोलनको चेतावनी स्वास्थ्यकर्मीहरूले सरकारलाई यो निर्णय सच्याउन दुई दिनको अल्टिमेटम दिएका छन्। यदि सोमबारसम्म दरबन्दी आह्वानमा सुधार नगरिए वैशाख २८ गते काठमाडौँमा विशाल प्रदर्शन गर्ने उनीहरूले चेतावनी दिएका छन्। स्वास्थ्य क्षेत्रमा वर्षौँदेखि सेवा गरिरहेका प्राविधिक जनशक्तिलाई राज्यले बेवास्ता गरेको भन्दै उनीहरूले आफ्नो अधिकारका लागि आन्दोलन नरोक्ने बताएका छन्।