बंगालमा 'दीदी'को युग अन्त्य, शुभेन्दुको काँधमा सत्ताको बागडोर

बंगालमा 'दीदी'को युग अन्त्य, शुभेन्दुको काँधमा सत्ताको बागडोर

कोलकाता। भारतीय राजनीतिमा निकै चासोका साथ हेरिएको पश्चिम बंगालमा लामो राजनीतिक रस्साकस्सीपछि भारतीय जनता पार्टी (भाजपा) ले पहिलो पटक सत्ताको बागडोर सम्हालेको छ। कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा शनिबार आयोजित एक विशेष र भव्य समारोहका बीच शुभेन्दु अधिकारीले राज्यको नयाँ मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

राज्यपाल आर.एन. रविले अधिकारीलाई बंगाली भाषामै शपथ गराएका थिए। यो शपथ ग्रहणसँगै बंगालमा १५ वर्ष लामो तृणमूल कंग्रेसको शासन र त्यसअघिको दशकौं लामो वामपन्थी किल्लालाई पूर्ण रूपमा भत्काउँदै भाजपाले नयाँ इतिहास रचेको छ।

मुख्यमन्त्री अधिकारीसँगै भाजपाका हस्तीहरू दिलीप घोष, अग्निमित्रा पल, अशोक कीर्तनिया, खुदिराम तादू र निशिथ प्रमानिकले पनि मन्त्री पदको शपथ लिएका छन्। यस ऐतिहासिक क्षणको साक्षी बन्न प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंह लगायतका शीर्ष नेताहरू कोलकाता पुगेका थिए।

शपथ लिनुअघि अधिकारीले यस दिनलाई पार्टीका संस्थापक पुस्ताले देखेको सपना साकार भएको क्षण भन्दै खुसी व्यक्त गरेका थिए। २९४ सिटको विधानसभामा २०७ सिटसहित दुई तिहाइ बहुमत प्राप्त गरे पनि सरकार गठनको प्रक्रिया भने निकै चुनौतीपूर्ण र उतारचढावपूर्ण रहेको थियो।

निर्वाचन परिणाम सार्वजनिक भएपछि निवर्तमान मुख्यमन्त्री ममता बनर्जीले चुनावी धाँधलीको आरोप लगाउँदै पदबाट राजीनामा दिन अस्वीकार गरेपछि बंगालको राजनीतिमा केही दिन संवैधानिक संकटको अवस्था सिर्जना भएको थियो। बनर्जीले निर्वाचन आयोगमाथि नै प्रश्न उठाउँदै आफू नहारेको दाबी गरेपछि राज्यपाल आर.एन. रविले मे ७ मा विधानसभा भंग गरेर नयाँ सरकार गठनको बाटो प्रशस्त गरिदिएका थिए।

चुनावी नतिजा सार्वजनिक भएपछि राज्यका विभिन्न स्थानमा राजनीतिक हिंसा र तोडफोडका घटनाहरू समेत घटेका थिए, जसमा मुख्यमन्त्री अधिकारीका निजी सहायक चन्द्रनाथ रथको गोली हानी हत्या भएको खबरले माहोल थप तनावपूर्ण बनाएको थियो।

नवनियुक्त मुख्यमन्त्री शुभेन्दु अधिकारी कुनै समय ममता बनर्जीका अत्यन्तै विश्वासपात्र सहयोगी थिए। सन् २०२१ को चुनावअघि मात्र भाजपा प्रवेश गरेका अधिकारीले यसपटक भवानीपुर क्षेत्रमा स्वयम् ममता बनर्जीलाई नै पराजित गरेर आफ्नो राजनीतिक सामर्थ्य प्रमाणित गरिदिएका छन्।

यद्यपि उनी आरएसएसको पृष्ठभूमिबाट नआएको भन्दै पार्टीभित्र केही बहस चले पनि बंगालमा टिएमसीको संगठनलाई चिर्न सक्ने एक मात्र नेताका रूपमा भाजपाले उनलाई नै सर्वसम्मत रूपमा विधायक दलको नेता चयन गरेको थियो। बंगालमा भाजपाको यो जितलाई भारतीय राजनीतिक वृत्तमा एउटा ठूलो परिवर्तनका रूपमा हेरिएको छ।