काठमाडौं। कीर्तिपुर नगरपालिका वडा नम्बर १० स्थित पोडेटोलमा भएको एक विभत्स हत्याको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
बुधबार चिया सागर नजिकै गुल्मी घर भएका २२ वर्षीय विपिन घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। उक्त घटना लगत्तै अनुसन्धानमा जुटेको प्रहरी वृत्त कीर्तिपुरको टोलीले हत्यामा संलग्न रहेको आशंकामा फरक-फरक ठाउँबाट तीन जनालाई नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा अछामको साँफेबगर नगरपालिका-४ घर भई हाल कीर्तिपुर बस्ने २५ वर्षीय महेन्द्र शाह, कैलाली घर भई कीर्तिपुरको पाँगा बस्ने २३ वर्षीय रवीन्द्र धामी र कैलालीकै घोडाघोडी घर भई कीर्तिपुर-८ सिनेमा हल क्षेत्रमा बस्दै आएका २२ वर्षीय रोशन बिष्ट रहेका छन्। उनीहरूले घिमिरेमाथि धारिलो हतियार प्रयोग गरी कर्तव्य ज्यान लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको दाबी छ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँले आज थप कानुनी प्रक्रियाका लागि अदालतमा पेस गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन भट्टराईका अनुसार अदालतले उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्न सात दिनको म्याद थप गरेको छ।
घिमिरेको हत्या कुन कारणले र कसरी भयो भन्नेबारे प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरिरहेको छ भने घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको बारे पनि खोजी भइरहेको जानकारी दिइएको छ।