सेवा प्रवाह सुधार्न मातहतका निकायलाई शिक्षामन्त्रीको निर्देशन

सेवा प्रवाह सुधार्न मातहतका निकायलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनतामा आशा जगाउने गरी सेवा प्रवाह चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।

आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले सेवाग्राहीका समस्या नागरिकका सरोकार र आमजनतालाई केन्द्रमा राखेर सेवा प्रणालीलाई सरल, सहज र परिणाममुखी बनाउन जोड दिएका छन्।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री पोखरेलले सरकारले नीतिगत तथा संरचनागत सुधारमार्फत सुशासन प्रवर्द्धन गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा काम गरिरहेको बताए।

उनले सबै निकायलाई वार्षिक योजना तथा कार्यक्रम लक्ष्यअनुसार सम्पन्न गरी विकास र आर्थिक समृद्धिको लक्ष्यमा योगदान पुर्‍याउन आग्रह गरे।

बैठकमा प्रस्तुत विवरणअनुसार चालु आर्थिक वर्षका नौ महिनामा ६४ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ भने भौतिक प्रगति ७० प्रतिशतभन्दा माथि पुगेको छ।

समीक्षा अवधिमा सञ्चालनमा रहेका कार्यक्रमको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको र निर्धारित समयभित्र लक्ष्य हासिल हुने निष्कर्ष निकालिएको छ।

मन्त्रालयका योजना तथा अनुगमन महाशा प्रमुख एवं सहसचिव शिवकुमार सापकोटाले प्रगति विवरण प्रस्तुत गरेका थिए भने विभिन्न निकायका प्रमुखले आ–आफ्नो कार्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए।

तीन महिनामा लक्षित कार्यक्रमको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको र आर्थिक वर्षभित्र लक्षित कार्यक्रम पूरा हुने क्रममा रहेको त्यस अवसरमा जानकारी दिइयो।

बैठकमा राष्ट्रिय योजना आयोगका प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी तथा मन्त्रालय मातहत विभिन्न निकायका प्रमुखको उपस्थिति रहेको थियो।