काठमाडौं। । बागमती प्रदेश सरकारले आज (बिहीबार) विभिन्न कार्यक्रमका साथ तेस्रो ‘प्रदेश भाषा दिवस’ मनाउँदैछ। २०८१ सालदेखि सुरु गरिएको यो दिवस यस वर्ष पनि विशेष उल्लासका साथ मनाउन लागिएको हो।
बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० कार्यान्वयनमा आएको दिनको स्मरणमा प्रत्येक वर्ष वैशाख २४ गते यो दिवस मनाउने गरिन्छ। उक्त ऐन २०८० कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो।
ऐनको व्यवस्था अनुसार राजपत्रमा प्रकाशित भएको १८० दिनपछि अर्थात् २०८१ वैशाख २४ गतेदेखि यो पूर्ण रूपमा कार्यान्वयनमा आएको थियो। सोही ऐतिहासिक दिनलाई आधार मानी प्रदेश सरकारले भाषा दिवस मनाउन थालेको संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए।
भाषा दिवसको महत्त्वलाई आत्मसात् गर्दै बागमती प्रदेश सरकारले आज प्रदेशभरका सबै सरकारी निकाय तथा सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा समेत दिएको छ। यस दिवसले प्रदेशभित्र बोलिने विभिन्न मातृभाषाहरूको संरक्षण र प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।