'प्रोजेक्ट फ्रिडम' तत्कालका लागि स्थगित: इरानसँगको वार्तामा 'व्यापक प्रगति' भएको ट्रम्पको दाबी

'प्रोजेक्ट फ्रिडम' तत्कालका लागि स्थगित: इरानसँगको वार्तामा 'व्यापक प्रगति' भएको ट्रम्पको दाबी

वासिङ्टन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको हर्मुज जलमार्गमा फसेका व्यापारिक जहाजहरूलाई सैन्य सुरक्षा (एस्कर्टिङ) सहित बाहिर निकाल्ने आफ्नो महत्त्वाकांक्षी योजना 'प्रोजेक्ट फ्रिडम' अस्थायी रूपमा स्थगित गर्ने घोषणा गर्नुभएको छ। इरानसँग जारी अनौपचारिक संवादमा सकारात्मक संकेत देखिएको र सम्भावित सम्झौतामा व्यापक प्रगति भएको भन्दै ट्रम्पले यो कदम चालेका हुन्।

हर्मुज क्षेत्रमा इरानी अवरोधका कारण तेल बोकेका सयौँ जहाजहरू विगत केही समयदेखि ठप्प रहेका थिए। ती जहाजहरूलाई अमेरिकी वायु सेना र नौसैनिक लडाकू विमानहरूको सुरक्षा घेरामा बाहिर निकाल्ने योजना अमेरिकाले बनाएको थियो। "हामी इरानसँग वार्ता गरिरहेका छौँ र एउटा सम्झौताको नजिक पुग्ने सम्भावनालाई परीक्षण गर्न मैले यो सैन्य अभियान रोक्ने निर्णय गरेको हुँ," राष्ट्रपति ट्रम्पले भने।

अमेरिकी सेनाको सेन्ट्रल कमान्डका अनुसार 'प्रोजेक्ट फ्रिडम' अन्तर्गत करिब १५ हजार सैनिक, १०० भन्दा बढी युद्धपोत, लडाकू विमान र ड्रोनहरू परिचालन गर्ने अन्तिम तयारी थियो। यद्यपि, इरानले आफ्नो जलक्षेत्रमा अमेरिकी सेना प्रवेश गरे भीषण हमला गर्ने चेतावनी दिँदै बारुदी सुरुङ, मिसाइल र तीव्र गतिका नौकाहरू तयारी अवस्थामा राखेको दाबी गरेको थियो।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबिओले सोमबारसम्म केही क्षेत्रमा एस्कर्टिङ सञ्चालन भइरहेको जानकारी दिनुभएको थियो। उहाँका अनुसार फेब्रुअरी २८ मा इजरायलसँग मिलेर सुरु गरिएको सैन्य अभियान 'अपरेशन एपिक फ्युरी' अब समाप्त भएको छ। रक्षामन्त्री पीट हेगसेथले पनि जलमार्ग हाललाई सुरक्षित पारिएको र चार हप्तादेखि जारी युद्धविरामको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताउएका छन्।

एकतर्फ वार्ताको कुरा भइरहँदा अर्कोतर्फ संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानबाट आएका मिसाइल र ड्रोन आक्रमणको सामना गरिरहेको जनाएको छ। इरानले ती आक्रमणको खण्डन गरे पनि यूएईले प्रतिकार गर्ने अधिकार सुरक्षित राखेको बताएको छ।

यो लामो द्वन्द्वका कारण हजारौँ मानिसले ज्यान गुमाइसकेका छन् भने विश्व ऊर्जा बजार र अर्थतन्त्रमा गम्भीर धक्का लागेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार यदि युद्ध अहिल्यै अन्त्य भए पनि यसको आर्थिक क्षति सन्तुलनमा ल्याउन कम्तीमा तीनदेखि चार महिना लाग्नेछ।

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण रहेको दाबी गर्दै आएको छ भने अमेरिकाले यसलाई विश्व सुरक्षाका लागि खतरा मान्दै आएको छ। हाल पाकिस्तानको राजधानी इस्लामावादमा दुवै पक्षबीच मध्यस्थताको प्रयास भइरहेको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानको सक्रिय मध्यस्थतामा वार्ता सकारात्मक दिशामा अघि बढिरहेको पुष्टि गरेका छन्।