होर्मुजमा अमेरिका र इरानबीच दाबी-प्रतिवाद: डुङ्गा ध्वस्त पारिएको ट्रम्पको भनाइलाई इरानले भन्यो 'झुट'

होर्मुजमा अमेरिका र इरानबीच दाबी-प्रतिवाद: डुङ्गा ध्वस्त पारिएको ट्रम्पको भनाइलाई इरानले भन्यो 'झुट'

काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा अत्यन्तै महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुजमा अमेरिकाले इरानका सात वटा ‘फास्ट बोट’ भनिने तीव्र गतिका डुङ्गाहरूलाई सफलतापूर्वक ध्वस्त पारेको दाबी गरेका छन्।

राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकी सेनाले हेलिकप्टरको प्रयोग गरी ती डुङ्गाहरूमाथि आक्रमण गरेको हो। उनले इरानसँग अब सीमित सङ्ख्यामा मात्र यस्ता सैन्य डुङ्गाहरू बाँकी रहेको उल्लेख गर्दै अमेरिकी कारबाहीले इरानी अवरोधलाई कमजोर बनाएको संकेत गरेका छन्।

अमेरिकाले यो सैन्य कदम ‘प्रोजेक्ट फ्रिडम’ अभियान अन्तर्गत चालेको बताएको छ, जसको मुख्य उद्देश्य इरानी अवरोधका कारण महिनौंदेखि सो जलक्षेत्रमा अलपत्र परेका व्यावसायिक जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्नु रहेको छ।

यसै अभियानको सफलताका रूपमा अमेरिकी झण्डावाहक जहाज ‘एलायन्स फेयरफ्याक्स’ ले सफलतापूर्वक स्ट्रेट अफ होर्मुज पार गरेको छ। ढुवानी कम्पनी मर्स्कका अनुसार उक्त जहाज गत फेब्रुअरीदेखि खाडी क्षेत्रमा फसेको थियो।

अमेरिकी सैन्य सुरक्षा घेरामा गरिएको यो यात्रा सफल भएसँगै जहाजका सबै चालक दल सुरक्षित रहेको र व्यावसायिक यात्रा बिना कुनै अवरोध सम्पन्न भएको कम्पनीले पुष्टि गरेको छ।

फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि प्रतिउत्तरमा इरानले यो मार्ग ठप्प पारेको थियो, जसका कारण विश्वको कुल तेल र ग्यास आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्ने यो मार्गमा व्यापक अवरोध सिर्जना भएको थियो।

यद्यपि, अमेरिकाको यो दाबीलाई इरानले भने पूर्ण रूपमा अस्वीकार गरेको छ। इरानी पक्षले अमेरिकी आक्रमणको प्रचारलाई ‘झुटो र भ्रामक’ संज्ञा दिँदै आफ्नो सेनाले अमेरिकी युद्धपोततर्फ चेतावनी स्वरूप गोली चलाएको दाबी गरेको छ।

इरानको भनाइमा अमेरिकी सेनाले वास्तविकता लुकाउन यस्तो प्रचार गरिरहेको छ। अप्रिलको सुरुमा दुई देशबीच युद्धविरामको घोषणा भए पनि स्ट्रेट अफ होर्मुजको अवस्था अझै सामान्य हुन सकेको छैन। अमेरिकाले इरानी बन्दरगाहहरूमा आफ्नै प्रकारको नाकाबन्दी जारी राखेको छ भने इरानले यो महत्वपूर्ण जलमार्गमा आफ्नो नियन्त्रण कायम राख्ने प्रयास गरिरहेको छ।

फेब्रुअरीदेखि सुरु भएको यो द्वन्द्वका कारण करिब २ हजार जहाज र ती जहाजमा रहेका २० हजार नाविकहरू महिनौँदेखि सो क्षेत्रमा अलपत्र परेका छन्।

अमेरिकाले आफ्ना नौसेना विध्वंसक जहाजहरूको सुरक्षामा व्यापारीक जहाजहरूलाई जलडमरूमध्य पार गराउन थालेको दाबी गरिरहँदा इरानले भने सो क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बलियो रहेको सन्देश दिइरहेको छ। दुई देशबीचको यो जुहारी र सैन्य मुठभेडले विश्वव्यापी ऊर्जा आपूर्ति शृङ्खलामा थप अनिश्चितता पैदा गरेको छ भने मानवीय संकटको जोखिमलाई पनि उत्तिकै बढाएको छ।