काठमाडाैं। जल तथा मौसम विज्ञान विभागले हुरीबतास र भारी वर्षा गराउने शक्तिशाली मौसमी प्रणाली हाल देशको पश्चिमी भेगबाट पूर्वतिर सर्दै गरेको जनाएको छ।
सुदूरपश्चिमबाट प्रवेश गरेको यो प्रणाली अहिले लुम्बिनी र कर्णाली हुँदै काठमाडौं उपत्यकासहित बागमती र मधेस प्रदेशका अधिकांश स्थानमा फैलिसकेको छ। हाल कर्णाली र लुम्बिनी प्रदेशका धेरैजसो जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने बागमती र मधेसमा पनि वर्षा सुरु भइसकेको छ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार यो प्रणालीका कारण करिब ४० किलोमिटर प्रतिघण्टाको गतिमा हुरीबतास चल्ने सम्भावना छ। विशेष गरी दिउँसोको समयमा यसको प्रभाव बढी रहने र केही स्थानमा करिब दुई घण्टासम्म कडा हावाहुरी चल्न सक्ने देखिएको छ।
आज साँझदेखि वर्षाको तीव्रतामा केही कमी आए पनि यो साताभरि नै वर्षा गराउने प्रणाली सक्रिय रहने विभागको अनुमान छ। हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण मौसममा यस्तो बदलाब आएको हो।
आज दिउँसो देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका साथै देशका पहाडी र हिमाली भू–भागका केही स्थानमा असिनासहित भारी वर्षाको समेत सम्भावना रहेको छ। रातिको समयमा पनि पहाडी र तराईका थोरै स्थानमा मेघगर्जनसहित वर्षा जारी रहने विभागले जनाएको छ।
साताको आगामी दिनहरूमा पनि मौसम स्थिर रहने देखिएको छैन। मङ्गलबार र बुधबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। विभागले हुरीबतास, चट्याङ र भारी वर्षाबाट हुन सक्ने सम्भावित भौतिक तथा मानवीय क्षति न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउन सर्वसाधारण र सरोकारवाला निकायहरूमा विशेष अनुरोध गरेको छ।