काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार सञ्चारकर्मीलाई भिडियो दृश्य सङ्कलनमा अवरोध गरिएको छ। मन्त्रिपरिषद् बैठक सुरु हुनुअघि कार्यालय बाहिरबाट व्यावसायिक छायाङ्कन गरिरहेका भिडियो पत्रकारहरूलाई सुरक्षाकर्मीले त्यहाँबाट हटाएका हुन्।
प्रत्यक्षदर्शीका अनुसार मन्त्रिपरिषद् बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बाहिरबाट भिडियो खिचिरहेका पत्रकारहरूतर्फ सङ्केत गर्दै सुरक्षाकर्मीसँग असन्तुष्टि व्यक्त गरेका थिए।
प्रधानमन्त्रीको सङ्केत लगत्तै त्यहाँ तैनाथ सुरक्षाकर्मीले सञ्चारकर्मीलाई तत्काल उक्त स्थान छाड्न र दृश्य सङ्कलन नगर्न आदेश दिएका थिए। राज्यको प्रमुख प्रशासनिक केन्द्र र सार्वजनिक सरोकारका सूचना सङ्कलन गर्ने थलोमै प्रधानमन्त्रीको निर्देशनमा भएको यस कडाइले प्रेस स्वतन्त्रता र सूचनाको हकमाथि प्रश्न उठाएको छ।
सञ्चार क्षेत्रका जानकारहरूले प्रधानमन्त्रीकै उपस्थितिमा सञ्चारकर्मीलाई व्यावसायिक जिम्मेवारी पूरा गर्न बाधा पुर्याइनुले स्वतन्त्र पत्रकारिताको मर्ममा प्रहार भएको टिप्पणी गरेका छन्।
यसैबीच, मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सञ्चारकर्मीले यस अवरोधबारे जिज्ञासा राखेका थिए।
जवाफमा प्रवक्ता पोखरेलले सञ्चारकर्मीको प्रवेशमा रोक लगाउन नखोजिएको दाबी गरे। उनले यसलाई ‘अवरोध’ को सट्टा कार्यालयको आन्तरिक आवतजावत र प्रवेशलाई थप ‘सहज र व्यवस्थित’ बनाउने प्रक्रियाका रूपमा बुझ्न आग्रह गरे। यद्यपि, कार्यथलोमै भएको यस प्रकारको व्यवहारले सञ्चारकर्मीहरूमाझ भने असन्तुष्टि बढाएको छ।