काठमाडौँ । मुलुकको सार्वजनिक प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त गराई सुशासन कायम गर्ने उद्देश्यका साथ सरकारले निजामती कर्मचारीहरूको ट्रेड युनियन खारेज गरेको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेसँगै वर्षौंदेखि अभ्यासमा रहेको कर्मचारी ट्रेड युनियनको कानुनी व्यवस्था औपचारिक रूपमा अन्त्य भएको हो।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार अध्यादेश जारी भएसँगै अब निजामती सेवामा दलीय वा आधिकारिक कुनै पनि प्रकारका ट्रेड युनियनहरू अस्तित्वमा रहने छैनन्।
निजामती सेवा ऐन, २०४९ को दफा ५३ ले राजपत्रांकित तृतीय श्रेणी वा सोभन्दा मुनिका कर्मचारीहरूलाई संगठित हुने अधिकार प्रदान गरे तापनि लामो समयदेखि कर्मचारीहरू दलीय राजनीतिमा सक्रिय हुँदा सेवा प्रवाहमा निष्पक्षता र व्यावसायिकता हराउँदै गएको भन्दै आलोचना भइरहेको थियो।
मन्त्री रावलले निजामती सेवाको आधारभूत चरित्र, निष्पक्षता, तटस्थता र जवाफदेहिता सुनिश्चित गर्नका लागि ट्रेड युनियन खारेजी अपरिहार्य देखिएको स्पष्ट पार्नुभएको छ। सरकारले ट्रेड युनियन खारेज गरे पनि कर्मचारीहरूको हकहित र सुरक्षा कानुनले नै सुरक्षित गर्ने र गुनासो सुन्नका लागि वैकल्पिक संयन्त्रको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सय बुँदे कार्यसूचीमा समेत समावेश भएको यो विषयलाई अध्यादेशमार्फत कार्यान्वयनमा ल्याइएको हो। नयाँ कानुनी व्यवस्था अनुसार अब कुनै पनि निजामती कर्मचारीले राजनीतिक दल, उनीहरूका भ्रातृ संगठन वा जनवर्गीय संगठनको सदस्यता लिन पाउने छैनन्।
यदि कोही कर्मचारी राजनीतिक क्रियाकलापमा आबद्ध भएको प्रमाणित भएमा भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने कडा प्रस्ताव गरिएको छ। यसैबीच, नेपाल निजामती कर्मचारी संगठन र युनियनसहितका ६ वटा दलगत संगठनहरूले भने सरकारको यो कदमप्रति तीव्र असन्तुष्टि जनाउँदै आन्दोलनको चेतावनी दिएका छन्, तर सरकार भने सेवालाई प्रभावकारी बनाउन यो निर्णयबाट पछि नहट्ने अडानमा देखिएको छ।