एमाले अध्यक्ष ओलीको राजनीतिक भेटघाटमा कडाइ: संक्रमणको जोखिमले १० देखि १५ दिन आराम गर्नुपर्ने

एमाले अध्यक्ष ओलीको राजनीतिक भेटघाटमा कडाइ: संक्रमणको जोखिमले १० देखि १५ दिन आराम गर्नुपर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै चिकित्सकहरूले राजनीतिक भेटघाटमा नियन्त्रण गरेका छन्।

हालै पत्थरीको शल्यक्रिया गराएका ओलीलाई शल्यक्रिया गरिएको स्थानमा संक्रमण (इन्फेक्सन) हुने जोखिम देखिएपछि चिकित्सकहरूले यस्तो सुझाव दिएका हुन्।

अध्यक्ष ओली अहिले भक्तपुरको गुण्डुस्थित निजी निवासको माथिल्लो तलामा आराम गरिरहेका छन्। केही दिनअघि शल्यक्रिया गरिएको घाउमा इन्फेक्सनको समस्या देखिएपछि उनको स्वास्थ्यलाई लिएर विशेष सतर्कता अपनाइएको हो।

ओलीका स्वकीय सचिव राजेश बज्राचार्यका अनुसार, केही दिनअघि स्वास्थ्य अवस्था बिग्रिएर अस्पताल नै लैजानुपर्ने स्थिति आए पनि घरमै चिकित्सकहरू बोलाएर उपचार गरिएको थियो।

स्वकीय सचिव बज्राचार्यले दिएको जानकारी अनुसार आइतबार आएको रगतको रिपोर्टमा स्वास्थ्यस्थिति सुधारोन्मुख देखिएको छ। "पार्टीका शीर्ष नेताहरू आउँदा भौतिक दूरी कायम गरेर भेटघाट भइरहेको छ, तर अन्य कार्यकर्ता र शुभेच्छुकहरूको भिडभाडले संक्रमणको खतरा हुने भएकाले भेटघाटलाई न्यूनतम बनाइएको छ," उनले भने।

चिकित्सकहरूले अध्यक्ष ओलीलाई अझै १० देखि १५ दिनसम्म पूर्ण आराम गर्न र संक्रमण हुन सक्ने वातावरणबाट टाढै रहन सल्लाह दिएका छन्। हाल घरमै नियमित घाउको ड्रेसिङ गर्ने र रगतको नमूना परीक्षण गर्ने कार्य भइरहेको छ।

यसबीचमा पार्टीका उपाध्यक्ष, महासचिव लगायतका केही पदाधिकारीहरूले गुण्डु पुगेर ओलीलाई भेटे पनि उनीहरूले निश्चित दूरी कायम गरेर मात्र कुराकानी गर्ने गरेको बताइएको छ।

संक्रमणको जोखिम पूर्ण रूपमा नहटेसम्म आगामी दुई हप्तासम्म अध्यक्ष ओलीको सार्वजनिक सक्रियता र भेटघाट कार्यक्रमहरू नियन्त्रित नै रहने सचिवालयले जनाएको छ।