काठमाडौँ– दलित समुदायमाथि भइरहेको जातीय विभेद, श्रृङ्खलावद्ध हिंसा र सुकुम्बासी बस्तीमा गरिएको जबर्जस्ती उठिबासविरुद्ध आइतबार काठमाडौँको माइतीघर मण्डलामा विशाल विरोध प्रदर्शन गरिएको छ। विभिन्न नागरिक समाज, दलित अधिकारकर्मी र पीडित पक्षका प्रतिनिधिहरूले संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले दलित समुदायमाथि छुवाछुतका नाममा हुने सार्वजनिक अपमान, कुटपिट र हत्या जस्ता जघन्य अपराध बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। "मान्छे हुन पाऊँ", "जातीय विभेद अन्त्य गर", र "पीडितलाई न्याय दे" जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका प्रदर्शनकारीहरूले कानुन भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा अपराधीले उन्मुक्ति पाइरहेको आरोप लगाएका छन्।
त्यसैगरी, पछिल्लो समय विकल्पविहीन अवस्थामा रहेका सुकुम्बासीहरूलाई राज्यले मानवीय संवेदनासमेत ख्याल नगरी बस्तीबाट जबर्जस्ती उठाउन खोजेको भन्दै प्रदर्शनकारीहरूले आक्रोश व्यक्त गरेका छन्। उनीहरूले गाँस, बास र कपासको ग्यारेन्टी गर्नु राज्यको संवैधानिक दायित्व भएको स्मरण गराउँदै बिना विकल्पको उठिबास तत्काल बन्द गर्न माग गरेका छन्।
प्रदर्शनका क्रममा वक्ताहरूले राज्यले सबै नागरिकप्रति समान व्यवहार गर्नुपर्ने र जात वा वर्गका आधारमा कसैलाई पनि उत्पीडनमा पार्न नहुने बताए।
उनीहरूले दोषीमाथि कडा कानुनी कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको मागसमेत गरेका छन्। शान्तिपूर्ण रूपमा सुरु भएको सो प्रदर्शनमा अधिकारकर्मीहरूले सरकारले आफ्ना मागहरू सम्बोधन नगरे आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी दिएका छन्।