तेहरान/वासिङ्टन। सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज (हर्मुज जलडमरूमध्य) मा अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दीका कारण इरानले ठूलो आर्थिक क्षति बेहोरेको छ।
अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको हालैको रिपोर्टलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यमहरूले जनाएअनुसार यो नाकाबन्दीपछि इरानले तेल निर्यातबाट हुने करिब ४.८ अर्ब डलर (झन्डै ५ अर्ब डलर) बराबरको आम्दानी गुमाएको छ।
गत अप्रिल १३ देखि अमेरिकाले इरानको सामुद्रिक मार्गमा कडाइ गरेपछि इरानका बन्दरगाहबाट बाहिरिने र भित्रिने जहाजहरूको आवागमन ठप्प प्रायः भएको छ।
पेन्टागनको पछिल्लो तथ्यांकअनुसार नाकाबन्दी सुरु भएयता तेल र अन्य प्रतिबन्धित सामग्री बोकेका ४० भन्दा बढी जहाजलाई अमेरिकी सेनाले रोकेर फर्काइदिएको छ। हाल ओमानको खाडीमा ५३ मिलियन ब्यारेल इरानी कच्चा तेल बोकेका ३१ वटा ट्यांकरहरू अलपत्र अवस्थामा छन्, जसको बजार मूल्य अर्बौँ डलर रहेको छ।
यो नाकाबन्दीका कारण इरानको आन्तरिक तेल भण्डारण क्षमता पनि लगभग भरिन लागेको बताइएको छ। भण्डारणको अभावमा इरानले आफ्ना पुराना ट्याङ्करहरूलाई नै अस्थायी गोदामको रूपमा प्रयोग गर्न थालेको छ। यदि यो अवस्था अझै केही समय लम्बिएमा इरानले आफ्ना तेल खानीहरू नै बन्द गर्नुपर्ने जोखिम बढेको छ, जसले दीर्घकालीन रूपमा इरानी अर्थतन्त्र र तेल उत्पादन क्षमतामा गम्भीर धक्का पुऱ्याउन सक्छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानमाथि अधिकतम आर्थिक दबाब सिर्जना गर्न यो नाकाबन्दीलाई हतियारको रूपमा प्रयोग गरेको देखिन्छ। विशेषगरी इरानको परमाणु कार्यक्रम र क्षेत्रीय तनावका बीच अमेरिकाले इरानलाई वार्ताको टेबुलमा ल्याउन यो रणनीति अपनाएको हो।
अर्कोतर्फ, इरानले अमेरिकी नाकाबन्दीलाई 'समुद्री डकैती' को संज्ञा दिँदै आएको छ। नाकाबन्दीबाट बच्न कतिपय इरानी ट्याङ्करहरूले पाकिस्तान र मलेसियाको तट हुँदै चीनतर्फ तेल पुऱ्याउन लामो र खर्चिलो वैकल्पिक मार्ग प्रयोग गरिरहेको समेत पाइएको छ।