काठमाडौँ। नेपालको शैक्षिक परामर्श सेवा क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल कंगारु एजुकेशन फाउण्डेशनले आफ्नो २० औं स्थापना दिवस अर्थात् ‘कंगारु डे’ विभिन्न विशेष कार्यक्रमका साथ उत्साहजनक रूपमा मनाएको छ।
काठमाडौँको बागबजारस्थित पर्पल हाउसमा मुख्य कार्यालय रहेको यस संस्थाले देशभर रहेका आफ्ना ११ वटा शाखामार्फत यो उत्सवलाई उपलब्धि, विश्वास र सेवाप्रतिको प्रतिबद्धताको अवसरका रूपमा मनाएको हो। स्थापना दिवसको मुख्य समारोह काठमाडौँमा सम्पन्न भएको थियो भने नेपालभर रहेका अन्य कार्यालयहरूमा पनि विविध कार्यक्रमहरू आयोजना गरिएका थिए।

यस विशेष अवसरलाई थप फलदायी बनाउन संस्थाले सोही दिन ‘यूके तथा न्युजिल्याण्ड भर्ना दिवस’ को समेत आयोजना गरेको थियो। उक्त भर्ना दिवसमा दुवै देशका ४५ भन्दा बढी प्रतिष्ठित शैक्षिक संस्थाहरूको सहभागिता रहेको थियो, जहाँ वैदेशिक अध्ययनका लागि इच्छुक विद्यार्थीहरूले प्रत्यक्ष परामर्श, भर्ना प्रक्रियामा सहजीकरण, विशेष छात्रवृत्ति तथा विभिन्न छुटका सुविधाहरू प्राप्त गरेका थिए। अष्ट्रेलिया, न्युजिल्याण्ड, यूके, अमेरिका र क्यानाडा जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय परामर्श दिँदै आएको कंगारुले यस पटकको उत्सवलाई विद्यार्थीको भविष्यसँग जोडेर सञ्चालन गरेको थियो।

व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै संस्थाले यसै अवसरमा रक्तदान कार्यक्रम, महिला फुटबल खेलाडीहरूको सम्मान र पुस्तकालय स्थापनाको घोषणा समेत गरेको छ। कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा शाखाहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो।
साथै, संस्थाले आगामी पाँच वर्षका लागि आफ्नो संस्थागत विकास, डिजिटल रूपान्तरण र सेवा विस्तारलाई केन्द्रित गर्दै रणनीतिक मार्गचित्र समेत सार्वजनिक गरेको छ। साँझको समयमा कर्मचारी, विश्वविद्यालयका साझेदार र शुभेच्छुकहरूको उपस्थितिमा आयोजित विशेष उत्सवले २० वर्षे यात्रालाई थप स्मरणीय बनाएको थियो।
संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमल्सिनाले २० वर्षको यो यात्रा विद्यार्थी र अभिभावकको अटुट विश्वास र समर्पणको प्रतिफल भएको बताउनुभएको छ। उहाँले आगामी पाँच वर्षलाई अझ प्रविधिमैत्री र प्रभावकारी बनाउँदै ‘भविष्य उज्जवल छ’ भन्ने नाराका साथ नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। दुई दशकको सफल यात्रा पूरा गरेको उपलक्ष्यमा कंगारु एजुकेशनले सम्पूर्ण सरोकारवालाहरूप्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ परिष्कृत र विद्यार्थीकेन्द्रित सेवा दिने संकल्प गरेको छ।