काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव देखिएको छ। यसका कारण देशका अधिकांश भू-भागमा मौसममा परिवर्तन आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाको रिपोर्टमा उल्लेख छ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा मौसम बदली रहनेछ। तराईका जिल्लाहरूमा भने आंशिक बदलीको सम्भावना छ। कोशी र मधेश प्रदेशसहित पहाडी क्षेत्रमा र बागमती, गण्डकी र लुम्बिनीका केही तराईका स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै हिमाली तथा पहाडी भू-भागमा अधिकांश बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।