काठमाडौं। नेपाल प्रहरीले विगत एक महिनाको अवधिमा देशभरबाट ४ सय १७ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ।
जसमध्ये उपत्यकाबाट १ सय २३ जना, कोशी प्रदेशबाट ४५ जना, मधेश प्रदेशबाट ५० जना, बागमती प्रदेशबाट ७६ जना, गण्डकी प्रदेशबाट २७ जना, लुम्बिनी प्रदेशबाट ४४ जना, कर्णाली प्रदेशबाट २४ जना र सुदूरपश्चिम प्रदेशबाट २८ जना पक्राउ परेका हुन्। पक्राउ मध्ये १ सय २१ जना व्यक्तिहरू उपर मुद्दा दर्ता गरिएको छ भने २ सय ९६ जना व्यक्तिहरूलाई छानविन पछि छाडिएको छ।
समाजमा शान्ति सुव्यवस्था कायम राख्दै आम नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ। वर्तमान परिपेक्षमा बिचौलिया रहित, नागरिक मैत्री, कानुन सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाहलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूले सेवाग्राहीहरूलाई छिटो र छरितो काम गरिदिने लगायतका प्रलोभनमा पारी दु:ख हैरानी दिने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेको छ।