काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका नेता सुधन गुरुङमाथि लागेको आरोपका सम्बन्धमा चाँडै आधिकारिक छानबिन प्रक्रिया अगाडि बढाइने बताएका छन्।
पछिल्लो समय गुरुङका विषयमा सार्वजनिक भएका विभिन्न टीकाटिप्पणी र विवादप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै लामिछानेले सत्यतथ्य पत्ता लगाउनका लागि निष्पक्ष अनुसन्धान गरिने प्रतिबद्धता जनाए।
उनले पार्टीभित्र कसैलाई पनि कानुन र पद्धतिभन्दा माथि राख्न नसकिने बताउँदै दोषी देखिएमा विधान बमोजिम कारबाही हुने र निर्दोष भए न्याय पाउने कुरामा ढुक्क हुन आग्रह गरे।
विगतमा पनि पार्टीले आन्तरिक अनुशासन र पारदर्शितालाई प्राथमिकता दिँदै आएको स्मरण गराउँदै सभापति लामिछानेले यो प्रकरणलाई पनि सोही गम्भीरताका साथ लिइने जानकारी दिए।
उनले अनुसन्धान प्रक्रियालाई पारदर्शी बनाइने र जनमानसले उठाएका प्रश्नहरूको उचित सम्बोधन गरिने कुरामा जोड दिए। पार्टीको छवि र जनताको भरोसालाई कायम राख्नका लागि पनि यस विषयको छिनोफानो छिटोभन्दा छिटो हुनुपर्ने उनको तर्क थियो।
छानबिनका लागि आवश्यक समिति गठन गरी तत्कालै काम सुरु गर्न निर्देशन दिइएको भन्दै उहाँले प्रक्रियागत ढिलासुस्ती नहुने कुरामा सबैलाई आश्वस्त पारे।