काठमाडौं। इरानी सेनाले अमेरिकासँग युद्धविरामको सम्झौता भए तापनि पश्चिम एसियामा द्वन्द्वको जोखिम अझै कायमै रहेको चेतावनी दिएको छ। इरानले रणनीतिक रूपमा विश्वकै महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गर्दै सैन्य तयारीलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।
इरानी राज्य प्रसारकका अनुसार सेनाका प्रवक्ता अमिर अक्रमिनियाले वर्तमान अवस्थालाई सैन्य दृष्टिकोणबाट अझै पनि युद्धकै स्थितिका रूपमा परिभाषित गरेका छन्। "परिस्थिति अझै युद्धकै हो। हाम्रा सेनाहरूले आफ्ना लक्ष्य र सैन्य उपकरणहरूलाई आधुनिक एवं अद्यावधिक गरिसकेका छन्," प्रवक्ता अक्रमिनियाले भने।
हर्मुज जलसन्धिमा दोहोरो सुरक्षा घेरा विश्वको तेल पारवहनका लागि मेरुदण्ड मानिने हर्मुज जलसन्धिको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै इरानले विशेष व्यवस्थापन गरेको छ। प्रवक्ताका अनुसार उक्त जलसन्धिको पश्चिमी खण्ड 'इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स' (IRGC) र पूर्वी खण्ड नियमित सेनाले व्यवस्थापन गरिरहेका छन्।
'जमिनबाट आक्रमण गर्ने शत्रुको हिम्मत छैन' इरानको उच्च सैन्य तयारीका कारण शत्रु पक्षले जमिनबाट आक्रमण गर्ने आँट नगरेको दाबी सेनाले गरेको छ। प्रवक्ताले भने, "दुश्मनले इरानमाथि भूमिगत आक्रमण गर्ने हिम्मत गर्न सकेनन्। हाम्रा स्थल सेनाहरू कुनै पनि सम्भावित खतराको सामना गर्न देशका विभिन्न भागमा उच्च सतर्कताका साथ तैनाथ छन्।"
सेनाले हालैको एक घटनालाई उल्लेख गर्दै इरानी फौजले एक अमेरिकी विमानको 'अपरेसन' असफल पारेको समेत दाबी गरेको छ।
पृष्ठभूमि गत फेब्रुअरी २८ मा सुरु भएको दुई पक्षीय द्वन्द्वपछि अप्रिल ७ मा युद्धविरामको घोषणा गरिएको थियो। तर, इरानले यस युद्धविरामलाई अस्थायी र रणनीतिक मात्र मान्दै आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो बनाइरहेको छ। अर्का इरानी अधिकारी मोहम्मद हुसेन जियाइनियाले देशको जित निश्चित रहेको र इरानको सैन्य शक्तिलाई कसैले पराजित गर्न नसक्ने जिकिर गरेका छन्।