अध्यादेश स्वीकृत नगर्न जेनजी मुभमेन्टले रास्ट्रपतिलाई पठायो पत्र

अध्यादेश स्वीकृत नगर्न जेनजी मुभमेन्टले रास्ट्रपतिलाई पठायो पत्र

काठमाडौं । जेनेजी मुभमेन्ट नेपालले सरकारको सिफारिसमा गएका दुई अध्यादेशलाई स्वीकृत नगर्न राष्ट्रपतिलाई आग्रह गर्दै पत्र बुझाएको छ ।

जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले आज राष्ट्रपतिलाई सम्बोधन गर्दै पठाइएको उक्त पत्रमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनले स्थिरता, पारदर्शिता र संस्थागत मर्यादाको पक्षमा स्पष्ट जनादेश दिएको उल्लेख गरिएको छ।

यस्तो अवस्थामा अध्यादेशमार्फत शासन चलाउने प्रयास लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाउने खालको भएको मुभमेन्टले जनाइएको छ।

पत्रमा अध्यादेशलाई आपतकालीन उपायका रूपमा मात्र प्रयोग गर्नुपर्ने उल्लेख गर्दै नियमित शासन सञ्चालनको विकल्प बन्न नसक्ने तर्क गरिएको छ। संसद् सक्रिय रहँदा कार्यपालिकाले विधायिकाको भूमिकालाई बाइपास गर्नु शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुने पनि पत्रमा लेखिएको छ ।

पत्रमा विगतका अनुभवले संसद्को निष्क्रियता र प्रक्रिया कमजोर हुँदा जनअसन्तुष्टि बढ्ने देखिएको भन्दै जनविश्वास जोगाउने जिम्मेवारी सबै राज्य निकायको साझा दायित्व भएको उल्लेख गरिएको छ। यस्तो अवस्थामा राष्ट्रपतिले प्रस्तुत अध्यादेशलाई स्वीकृति नदिई पुनर्विचारका लागि फर्काउनु उपयुक्त हुने भनिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।