काठमाडौं। पूर्वमन्त्री सुदन किरातीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो सम्पूर्ण औपचारिक सम्बन्ध अन्त्य भएको घोषणा गरेका छन् । अध्यक्ष परिषद् सदस्यबाट केही समयअघि राजीनामा दिएका उनले अब साधारण सदस्य समेत नरहने निर्णय सार्वजनिक गरेका हुन्।
सामाजिक सञ्जालमा लेख्दै उनले करिब पाँच महिनाको राजनीतिक यात्रापछि पार्टी छाड्ने निष्कर्षमा पुगेको बताएका छन् । उनले यस अवधिमा मार्गदर्शन गर्ने नेताहरू, साथ दिने साथीहरूप्रति आभार व्यक्त गर्दै प्राप्त अनुभवलाई ‘अमूल्य सम्पत्ति’ का रूपमा लिएको उल्लेख गरेका छन्।
किरातीले संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भए पनि व्यक्तिगत रूपमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध भने कायम रहने विश्वास व्यक्त गरेका छन् । साथै, जनताको भरोसा र सहिदहरूको अधूरो सपना पुरा गर्ने प्रतिबद्धताबाट आफू पछि नहट्ने स्पष्ट पारेका छन्।
‘मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ, तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु,’ उनले लेखेका छन्।