काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको म्याद थप गर्ने घोषणा गरेका छन्। पाकिस्तानको आग्रहलाई स्वीकार गर्दै राष्ट्रपति ट्रम्पले इरानले आफ्नो तर्फबाट 'एकीकृत प्रस्ताव' नबुझाएसम्मका लागि युद्धविराम जारी रहने जनाएका हुन्।
इरान सरकार अहिले आन्तरिक रूपमा निकै कमजोर र विभाजित अवस्थामा रहेको विश्लेषण गर्दै ट्रम्पले यो निर्णय लिइएको प्रष्ट पारेका छन्। यद्यपि, युद्धविरामको घोषणा गरे पनि अमेरिकी सेनालाई होर्मुज जलडमरूमा लगाइएको नाकाबन्दी भने यथावत राख्न निर्देशन दिइएको छ।
केही समय अघिसम्म वार्ता विफल भएमा सैन्य आक्रमण गर्ने चेतावनी दिँदै आएका राष्ट्रपति ट्रम्पको पछिल्लो निर्णयलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र फिल्ड मार्शल असिम मुनिरले युद्धविराम लम्ब्याउन गरेको अनुरोधलाई आफूले सकारात्मक रूपमा लिएको ट्रम्पले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
ट्रम्पले इरानको नेतृत्वबाट ठोस र एकीकृत प्रस्ताव नआएसम्मका लागि युद्धविराम कायम रहने बताएका छन्। यद्यपि, इरानको तर्फबाट भने यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक भएको छैन।
इरानमाथि लगाइएको कडा आर्थिक तथा सैन्य नाकाबन्दीमा भने कुनै छुट दिइएको छैन। विशेषगरी होर्मुज जलडमरूमा अमेरिकी नौसेनाको उपस्थितिलाई कायमै राखिने र त्यहाँ जारी नाकाबन्दी नहट्ने अमेरिकी प्रशासनको अडान छ। यो कदमले इरानको अर्थतन्त्र र आपूर्ति प्रणालीमाथि दबाब कायमै राख्ने देखिएको छ। यसअघि इरानले अमेरिकी मागहरू अस्वभाविक भएको र नाकाबन्दी नहटाएसम्म वार्ताको अर्थ नरहेको बताउँदै आएको छ।
युद्धविराम लम्बिए पनि दुई देशबीचको तनाव भने कायमै छ। अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले हालै पाकिस्तानमा हुने भनिएको वार्ताका लागि आफ्नो भ्रमण रद्द गर्नुभएको छ, जसले वार्ताको वातावरण अझै पनि अनिश्चित रहेको संकेत गर्दछ।
अर्कोतर्फ, इरानी पक्षले अमेरिकी घोषणालाई समय लम्ब्याएर थप दबाब दिने रणनीतिका रूपमा व्याख्या गर्दै आएको छ। राष्ट्रपति ट्रम्पले युद्धविरामको अवधि तोक्नुको साटो इरानले प्रस्ताव पेस नगरेसम्मका लागि भनी अनिश्चितकालीन समयसीमा तोकेकाले आगामी दिनमा वार्ता कतातिर मोडिने हो, त्यो प्रतीक्षाको विषय बनेको छ।