प्रधानमन्त्री शाह विरुद्धको अवहेलना मुद्दा पेसीमा: 'वारेस' राख्ने मागमाथि आज सुनुवाइ हुँदै

प्रधानमन्त्री शाह विरुद्धको अवहेलना मुद्दा पेसीमा: 'वारेस' राख्ने मागमाथि आज सुनुवाइ हुँदै

काठमाडौं। नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रहेको 'अदालतको अवहेलना' सम्बन्धी मुद्दा आज सुनुवाइका लागि पेसीमा चढेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको संयुक्त इजलासमा उक्त मुद्दाको सुनुवाइ तोकिएको हो।

प्रधानमन्त्री शाहले यसअघि नै सर्वोच्च अदालत पुगेर मुद्दाको तारेख बुझिसकेका छन्। आजको सुनुवाइ मुख्यतः उनले माग गरेको 'वारेस' सुविधाका विषयमा केन्द्रित रहने देखिएको छ।

यो विवाद करिब तीन वर्षअघिको हो, जतिबेला बालेन शाह काठमाडौं महानगरपालिकाको प्रमुख थिए।

भारतीय चलचित्र 'आदिपुरुष' मा समावेश 'जानकी भारतकी छोरी हुन्' भन्ने संवादलाई लिएर शाहले काठमाडौंका हलमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएका थिए।  उच्च अदालत पाटनले फिल्म प्रदर्शन नरोक्न अन्तरिम आदेश जारी गर्‍यो।

अदालतको उक्त आदेशपछि शाहले सामाजिक सञ्जालमा लेखेका थिए- "जहाँ देशको सार्वभौमिकता र स्वाधीनताको कुरा आउँछ, त्यहाँ म कुनै कानुन वा अदालतलाई मान्नेवाला छैन।"

उक्त अभिव्यक्तिले अदालतको अपमान गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा अवहेलनाको मुद्दा दायर गरेकी थिइन्।

यसअघि सर्वोच्च अदालतले प्रधानमन्त्री शाहलाई मुद्दाको तारेखका लागि स्वयं उपस्थित हुन आदेश दिएको थियो। प्रधानमन्त्री जस्तो गरिमामय र व्यस्त पदमा रहेकाले शाहले आफ्नो तर्फबाट प्रतिनिधि (वारेस) राख्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका छन्।

"प्रधानमन्त्रीको व्यस्त कार्यतालिकाका कारण प्रत्येक तारेखमा स्वयं उपस्थित हुन कठिनाइ हुने उल्लेख गर्दै वारेसको सुविधा माग गरिएको हो।"

यदि आज अदालतले वारेसको अनुमति दिएमा प्रधानमन्त्रीले आगामी दिनमा आफैँ अदालत धाइरहनु पर्ने छैन। तर, अदालतले उक्त माग अस्वीकार गरेमा उनले कानुन बमोजिम प्रत्येक तारेखमा आफैं उपस्थित हुनुपर्ने हुन्छ।