मुस्ताङ : मुस्ताङस्थित चिनीयाँ सिमा कोरला नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ ९बिओपी० स्थापना हुने भएको छ । उक्त नाकाको सीमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले मङ्सिर महिनाभित्र नेचुङमा बिओपी स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो । प्रहरी निरीक्षकको नेतृत्वमा ३५ सशस्त्र प्रहरीको टाली खटिनेछ । स्थायी पूर्वाधार तयार नहुँदासम्म सशस्त्र प्रहरीको टोली नेचुङ भन्सार कार्यालयको भवनमा बस्नेछन् ।
बिओपीको भवन निर्माणका लागि ३३ रोपनी जग्गा व्यवस्थापन गरेर भवन निर्माणका लागि बजेट विनियोजन भएको छ । भवन मर्मत गर्न लोमान्थाङ गाउँपालिकाले रु १५ लाख विनियोजन गरेको छ । हाल नेचुङमा नेपाल प्रहरीको सीमा प्रहरी चौकी छ । सशस्त्र प्रहरीको बिओपी स्थापना भएपछि कोरला नाका सञ्चालनका लागि सुरक्षाको वातावरण निर्माण हुने सांसद प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।
कोरला नाकादेखि २६ किलोमिटर नेपालतर्फ पर्ने लोमान्थाङमा एक हजार २१७ रोपनी जग्गा व्यवस्थापन गरी गत वर्ष नेपाली सेनाको क्याम्प राखिएको थियो । नाका सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीको क्याम्प अहिलेसम्म सदरमुकाम जोमसोममै छ ।
सोही नाका सञ्चालनका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका क्रममा सम्झौता भएको थियो । विसं २०३२ मा शुरु भएको कोरला नाका खम्पा विद्रोहपछि चिनियाँ पक्षले बन्द गरेको थियो । हाल वर्षमा दुई पटक व्यापार मेलाको समयमा मात्र नाका खुल्ने गरेको छ । कोरला नाका जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक स्तरोन्नतिका लागि २०७३ देखि ११ वटा प्याकेजमा आयोजना सञ्चालन भएको छ । हाल सडक विस्तार, कालोपत्रे र मोटरेबल पुल निर्माणको काम भइरहेको छ । जम्मा ११ प्याकेजमध्य १८ किलोमिटर दूरीको छोसेर–कोरलाखण्डको सडक स्तरोन्नतिको काम मात्र सकिएको छ ।