काठमाडौं। काठमाडौंमा मंगलबारदेखि वाई फाइ सेवासहितका रात्रिकालीन बस सेवा सुरु भएको छ। यो सेवाले काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको भौगोलिक क्षेत्र जोड्ने बस सेवा पुलचोकबाट सुरु गरिएको हो।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठा राम अधिकारीले समन्वय र सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेर सेवा प्रारम्भ गरेकी हुन्।
बस सञ्चालनको प्रारम्भमा ७ वटा बस सञ्चालनमा ल्याइएका छन्। हरेक बस अगाडिको भाग देखिने एउटा, चालक देखिने एउटा र यात्रु देखिने २ वटा गरी ४ वटा सिसिटिभी क्यामराबाट निगरानी हुनेछ। यो निगरानी नियन्त्रण कक्षबाट हेर्न सकिने भएकोले सामान हराउने हुँदैन। गलत क्रियाकलाप गर्ने वा दुव्र्यवहार गर्नेलाई तत्काल नियन्त्रणमा लिन सकिनेछ । यात्रीहरूको सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले हरेक बसका १ जना नगर प्रहरी पोशाकमा खटाएको छ।