इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिंटन। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी नौसेनाका जहाजहरूलाई ‘ध्वस्त’ पार्ने कडा चेतावनी दिएका छन्।

सोमबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत एक सन्देश जारी गर्दै उहाँले अमेरिकी नौसेनाले लगाएको नाकाबन्दी क्षेत्रको नजिक आउने कुनै पनि इरानी ‘फास्ट अट्याक क्राफ्ट’ वा युद्धक जहाजहरूलाई तत्काल नष्ट गरिने बताएका हुन्। हर्मोज जलसन्धि र इरानी बन्दरगाहहरूमा अमेरिकाले लगाएको समुद्री नाकाबन्दी सोमबारदेखि नै पूर्ण रूपमा कार्यान्वयनमा आएको छ।

राष्ट्रपति ट्रम्पले इरानको परम्परागत नौसेनाका धेरैजसो जहाजहरू यसअघि नै मारिएका दाबी गर्दै बाँकी रहेका साना र तीव्र गतिका डुङ्गाहरूले अमेरिकी सुरक्षा घेरा तोड्न खोजे त्यसको परिणाम “छिटो र भयानक” हुने उल्लेख गरेका छन्।

उनले यस कारबाहीलाई समुद्री लागूऔषध तस्करहरू विरुद्ध गरिने कारबाहीसँग तुलना गर्दै अमेरिकी सेनालाई स्पष्ट आदेश दिइएको बताए। यो चेतावनी इस्लामावादमा भएको शान्ति वार्ता निष्कर्षविहीन सकिए लगत्तै आएको हो, जसले मध्यपूर्वमा सैन्य मुठभेडको जोखिमलाई थप बढाएको छ।

यसको जवाफमा इरानले अमेरिकी नाकाबन्दीलाई ‘समुद्री डकैती’ को संज्ञा दिँदै यदि आफ्ना जहाजहरूमाथि आक्रमण भए फारस खाडीका कुनै पनि बन्दरगाह सुरक्षित नरहने चेतावनी दिएको छ।

अमेरिकाले इरानलाई आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्न र हर्मोज जलसन्धि खुला राख्न दबाब दिइरहेको छ। विश्वको तेल आपूर्ति हुने मुख्य मार्गमा देखिएको यो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य र विश्वको उर्जा सुरक्षामा ठूलो संकट आउन सक्ने विश्लेषण गरिएको छ।