मुम्बई। भारतीय पार्श्व गायनकी लिजेन्ड तथा 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड'मा नाम दर्ता गराउन सफल विश्वप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि उमेरजन्य स्वास्थ्य समस्याबाट पीडित भोसलेको मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले पुष्टि गरेको छ।
सन् १९३३ मा जन्मिएकी आशा भोसलेले सात दशक लामो सांगीतिक यात्रामा १ हजारभन्दा बढी हिन्दी चलचित्रमा स्वर दिएकी थिइन्। उनले २० भाषाहरूमा ११ हजारभन्दा बढी गीत गाएर विश्व कीर्तिमान कायम गरेकी थिइन्।
नेपाली संगीतसँगको अटुट साइनो
आशा भोसलेको निधनले नेपाली संगीत क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ। उनले नेपाली संगीतका कालजयी गीतहरूमा आफ्नो स्वर दिएकी छन्। 'यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर', 'झझल्को लिएर आएछ सावन', 'गैरी खेतको शिरैमा' र 'अघि पछि मेरो' जस्ता दर्जनौं नेपाली गीतहरू आज पनि नेपाली श्रोताको मुखमा झुण्डिएका छन्। उनले नेपाली संगीतका सारथिहरू नारायण गोपाल, अम्बर गुरुङ र रञ्जित गजमेरसँगको सहकार्यमा नेपाली सुगम संगीतलाई समृद्ध बनाउन ठूलो योगदान पुर्याएकी थिइन्।
सम्मान र पुरस्कार
भारतीय सरकारले उनलाई सन् २००० मा 'दादा साहेब फाल्के अवार्ड' र २००८ मा 'पद्म विभूषण' बाट सम्मानित गरेको थियो। उनले दुई पटक राष्ट्रिय चलचित्र पुरस्कार र १८ पटक फिल्मफेयर अवार्ड जितेर गायन क्षेत्रमा आफ्नो प्रभुत्व जमाएकी थिइन्।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मुम्बईस्थित उनकै निवासमा राखिने र आजै राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनको निधनमा भारतीय प्रधानमन्त्री, बलिउडका हस्तीहरू र नेपालका संगीतप्रेमीहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।