लेबनानसँगको तनाव अन्त्यका लागि नेतान्याहूले दिए वार्ताको निर्देशन

लेबनानसँगको तनाव अन्त्यका लागि नेतान्याहूले दिए वार्ताको निर्देशन

जेरुसेलम। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानसँग जारी द्वन्द्व र सीमा विवाद सुल्झाउनका लागि वार्ता अगाडि बढाउन आफ्ना अधिकारीहरूलाई निर्देशन दिएका छन्। पछिल्लो समय लेबनानको सशस्त्र समूह हिजबुल्लाह र इजरायली सेनाबीच बढ्दै गएको सैन्य मुठभेडका कारण क्षेत्रीय युद्धको खतरा बढेपछि यो कदम चालिएको हो।

प्रधानमन्त्री नेतान्याहूले सुरक्षा मन्त्रिपरिषद् र आफ्ना नजिकका सल्लाहकारहरूलाई कुटनीतिक च्यानल प्रयोग गरी वार्ताको वातावरण बनाउन भनेका छन्।

यस प्रक्रियामा अमेरिका र अन्य अन्तर्राष्ट्रिय शक्तिहरूले मध्यस्थता गर्ने सम्भावना रहेको बताइएको छ। इजरायलले आफ्नो उत्तरी क्षेत्रका नागरिकहरूको सुरक्षालाई प्राथमिकता दिँदै हिजबुल्लाहलाई सीमा क्षेत्रबाट टाढा राख्न खोजेको छ।

एकातिर वार्ताको कुरा उठे पनि इजरायली सेनाले लेबनानका केही सैन्य अखडाहरूमाथिको निगरानी र लक्षित आक्रमणलाई भने जारी राखेको छ। 
लाखौं इजरायली र लेबनानी नागरिकहरू विस्थापित भएकाले अन्तर्राष्ट्रिय समुदायबाट युद्धविरामका लागि ठूलो दबाब सिर्जना भइरहेको छ। नेतान्याहूले वार्ताको निर्देशन दिनुलाई कूटनीतिक जानकारहरूले 'युद्धको सट्टा वार्ताबाट समाधान खोज्ने अन्तिम प्रयास' का रूपमा हेरेका छन्।

"हाम्रो प्राथमिकता हाम्रा नागरिकलाई सुरक्षित रूपमा घर फर्काउनु हो। यदि कूटनीतिबाट यो सम्भव हुन्छ भने हामी त्यसका लागि तयार छौँ," इजरायली रक्षा मन्त्रालयका एक अधिकारीले उल्लेख गरेका छन्।

यद्यपि, हिजबुल्लाहले इजरायलले गाजामा गरिरहेको आक्रमण नरोकेसम्म वार्ता नगर्ने अडान राख्दै आएको छ। त्यसैले यो वार्ता कत्तिको सफल हुन्छ भन्ने कुरा आगामी केही दिनको घटनाक्रममा भर पर्नेछ।