इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा “लकडाउन”

इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा “लकडाउन”

एजेन्सी: युरोपेली मुलुक इटालीमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या बिहीबार तीन हजार नाघेको छ । यो संख्या चीनमा मृत्यु भएका व्यक्तिभन्दा बढी हो ।अमेरिकी राज्य क्यालिफोर्नियामा तीन करोड ९० लाख भन्दा बढी मानिसलाई घरभित्रै बस्न आदेश दिइएको छ । अमेरिकामा यति कठोर कदम चाल्ने क्यालिफोर्निया पहिलो राज्य हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले कोरोना संक्रमित व्यक्तिको उपचारका लागि औलोका बिरामीलाई दिइने औषधिको प्रयोग गर्न पहिलो पटक अनुमति दिइएको बताउनु भएको छ । चीनले शुक्रबार लगातार दोस्रो दिन कोरोनाका संक्रमित व्यक्ति उपचारका लागि स्वास्थ्य केन्द्रमा नआएको जनाएको छ । गत डिसेम्बरको मध्यबाट उहानमा यो भाइरस देखा परेको थियो । चीनमा आशाको किरण देखा पर्दा थुप्रै देशहरूले आफ्नो सीमाना कडा पारेका छन् ।

लाखौं मानिसलाई घरभित्रै बस्न बाध्य बनाइएको छ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समयमै भाइरस फैलिनबाट नरोकिए लाखौं मानिस मर्ने चेतावनी दिनुभएको छ । विश्वका नेताहरूले विश्व अर्थतन्त्रलाई अगाडि बढाउन करिब एक ट्रिलियन डलरको राहत योजना सार्वजनिक गरिसकेका छन् ।

इटालीले बिहीबार थप ४२७ जनाको मृत्यु भएको घोषणा गरेको छ र योसँगै इटालीमा मृत्यु भएका व्यक्तिको संख्या तीन हजार ४०५ पुगेको आधिकारिक स्रोतहरुले जनाएका छन् । आधिकारिक स्रोतका अनुसार भाइरसका कारण चीनमा तीन हजार २४५ जनाको मृत्यु भएको छ । यो रोगले खासगरी बुढेसकालका व्यक्तिहरुमा श्वासप्रश्वासको समस्या निम्त्याउने गरेको चिनियाँ चिकित्सकहरुले बताएका छन् ।