पश्चिम एसिया द्वन्द्व : युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

पश्चिम एसिया द्वन्द्व : युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं। पश्चिम एसियाको द्वन्द्वका क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा आक्रमणमा परी घाइते भएका सबै नेपाली नागरिक सबै खतरामुक्त रहेका छन्।

सो आक्रमणमा परेर सात जना नेपाली घाइते भएका जनाइएको छ। घाइते नेपाली नागरिक सबै खतरामुक्त रहनुभएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।

राजदूतावासका अधिकारीले गम्भीर घाइतेसहित सातै जनासँग टेलिफोन सम्पर्क गरेको र उहाँहरूले खतरामुक्त रहेको जानकारी गराउनुभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ। घाइतेमध्येका चारजनालाई दूतावासका अधिकारीहरूले आजै भेट गरी उनीहरूको अवस्थाका बारेमा बुझेको र आवश्यक सहयोगका लागि समन्वय गर्ने उल्लेख गरेका थिए। बाँकी तीन जनासँग पनि छिट्टै भेट गरी आवश्यक जानकारी लिइने मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए।

प्रवक्ता क्षेत्रीका अनुसार छ जना सामान्य उपचारपछि हाल अस्पतालबाट फर्किसक्नुभएको र गम्भीर चोट लागेको भनिएका थप एकजना नेपालीको पनि हाल उपचार जारी रहेको तथा उनी पनि खतरामुक्त रहेका छन्। आफू छिट्टै अस्पतालबाट ‘डिस्चार्ज’ हुने उनले टेलिफोनमा बताएका छन्।

यस घटनाका सम्बन्धमा जानकारी प्राप्त हुनासाथ आवश्यक समन्वयका लागि मन्त्रालयबाट दूतावासलाई निर्देशन दिइएको थियो। युएईका सम्बन्धित निकायहरूबाट समयमै उहाँहरूलाई उचित उपचारको प्रबन्ध गरिएको थियो। राजदूतावासले उहाँहरूलाई आवश्यक पर्ने कुनै पनि प्रकारको सहयोगका लागि प्रतिबद्ध र तयार रहेको जनाएको छ।