सुर्खेत । इनिशा विक हत्या आरोपमा पक्राउ परेका चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । सुर्खेत जिल्ला अदालतका बाल इजलासका न्यायाधीश दीपक ढकालको इजलासले आरोपित चारै जनालाई थुनामा राख्न आदेश दिएको हो । अदालतको आदेशअनुसार उनीहरूलाई बाल सुधार गृहमा पठाइने भएको छ ।
अदालतका सूचना अधिकारी उज्ज्वल रावलकारअनुसार घटनाको गम्भीरता र प्रारम्भिक प्रमाणका आधारमा अनुसन्धान पूरा नहुँदासम्म थुनामै राखेर मुद्दा अघि बढाउने आदेश गरिएको हो । सोमबारदेखि बाल इजलासमा सुनुवाइ भई रहेको उक्त मुद्दामा मंगलबारको थुनछेक बहसपछि अदालतले यस्तो आदेश दिएको हो ।
प्रहरीले अनुसन्धानकाक्रममा इनिशा घटनामा सामूहिक बलात्कारको तथ्य फेला नपरेको भन्दै मुख्य अभियुक्तलाई जवरजस्तीकरणीसहित कर्तव्य ज्यान र अन्य तीन जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन माग गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले अभियुक्तलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १, २ र ७ अनुसार कैद सजाय र जरिवाना मागवादी गरी अभियोग दायर गरेको थियो ।
उक्त अभियोग अनुसार २१९ को उपदफा ३ को खण्ड (घ) बमोजिम जबरजस्ती करणीमा १० देखि १२ वर्ष कैद सजाय र कसुर प्रमाणित भयो भने पीडितलाई क्षतिपूर्ति दिने गरी पाँच लाख रुपैयाँ जरिवाना र कर्तव्य ज्यान अन्तर्गत आजीवन कारावासको माग दाबी गरिएको छ ।