काठमाडाैं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने घोषणा गरेका छन्।
मंगलबार ह्वाइट हाउसमा पत्रकारहरूसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले जारी युद्ध अब धेरै नलम्बिने बताएका हुन्।
'हामी चाँडै बाहिरिनेछौं। सम्भवतः दुई हप्ता, सायद दुई वा तीन हप्ताभित्र,' उनले भने।
युद्ध अन्त्यका लागि इरानसँग सम्झौता अनिवार्य शर्त नभएको पनि ट्रम्पले बताए। अमेरिकाले फेब्रुअरी २८ मा इसराइलसँग मिलेर इरानमा हमला गरेको थियो। अमेरिकाले इरानविरूद्धको सैन्य कारबाहीलाई 'अपरेसन एपिक फ्युरी' नाम दिएको छ।
'अपरेसन एपिक फ्युरी अन्त्य गर्न कुटनीतिक सम्झौता आवश्यक छैन। इरानले हामीसँग सम्झौता गर्नै पर्छ भन्ने पनि छैन,' ट्रम्पले पत्रकारहरूसँग भने।
इरानको शासन परिवर्तन अमेरिकाको उद्धेश्य नरहेको पनि ट्रम्पले बताएका छन्। युद्धको सुरूवात र त्यसभन्दा अघि ट्रम्पले इरानको सत्ता परिवर्तन अमेरिकाको चाहना रहेको बताएका थिए।
इरानमा आन्दोलन हुँदा ट्रम्पले पटकपटक त्यहाँका जनतालाई इरानी सत्ताविरूद्ध संघर्ष गर्न आह्वान गर्दै अमेरिकाले सहायता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
इरानमा हमलापछि पनि उनले त्यहाँका जनतालाई सम्बोधन गर्दै सत्ता हातमा लिन आह्वान नै गरेका थिए।
त्यतिबेला इरानलाई केही दिनमै घुँडा टेकाउने ट्रम्पको दाबी विपरीत युद्ध एक महिनाभन्दा बढी समयसम्म लम्बिएपछि उनले इरानी सत्ता परिवर्तन अमेरिकाको चाहना नभएको बताएका हुन्।