काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको पहिलो बैठकका लागि सम्भावित कार्यसूची पहिचान गरेको छ। सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्ने, दलका नेताहरूले सम्बोधन गर्ने तथा सभामुख–उपसभामुख निर्वाचन प्रक्रिया अघि बढाउनेलगायत एजेण्डा समावेश गरिएका छन्।
निर्वाचनपछि बस्न लागेको पहिलो बैठकको तयारीस्वरूप सचिवालयले बुधबार सर्वदलीय बैठक आह्वान गरेको छ। कार्यव्यवस्था परामर्श समिति गठन भइनसकेको अवस्थामा सबै दलको सहभागितामा यस्तो बैठक बोलाइएको हो।
प्रवक्ता गिरीका अनुसार सर्वदलीय बैठकले पहिलो बैठक सञ्चालनको प्रक्रिया, प्रारम्भिक एजेण्डा चयन तथा कार्यतालिका व्यवस्थापनबारे सहमति जुटाउनेछ। साथै, प्रतिनिधिसभा नियमावलीसम्बन्धी विषयमा पनि छलफल गरिनेछ, किनभने नियमावली बिना संसद सञ्चालन सम्भव हुँदैन।
पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले जारी गरेका तीन अध्यादेश पेश गरिनेछन् भने संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची पनि रहनेछ।
संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखको निर्वाचन पहिलो बैठक बसेको १५ दिनभित्र सम्पन्न गर्नुपर्ने भएकाले यस विषयलाई पनि प्राथमिकतामा राखिएको छ।
यसैबीच, सिंहदरबारस्थित निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय हल पूर्ण नहुँदा सभा सञ्चालनमा केही चुनौती रहेको बताइएको छ। दर्शक तथा सञ्चारकर्मीका लागि आवश्यक व्यवस्थासमेत पूर्ण नभएको सचिवालयले जनाएको छ।
प्रतिनिधिसभा नियमावली पारित भएपछि कार्यव्यवस्था परामर्श समिति तथा विषयगत समितिहरू गठन गर्ने प्रक्रिया अघि बढ्नेछ।