वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य, नयाँ संस्थालाई सूचीकरण खुला

वैदेशिक रोजगारी स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य, नयाँ संस्थालाई सूचीकरण खुला

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ स्वास्थ्य संस्थालाई सूचीकरण खुला गरेको छ।

मन्त्रालयले मंगलबार (चैत १७) जारी विज्ञप्तिअनुसार मन्त्रिस्तरीय निर्णयबाट नयाँ स्वास्थ्य संस्थालाई सूचीकरणको प्रक्रिया सुरु गरिएको हो। यससँगै यसअघि सीमित संस्थामा केन्द्रित रहेको स्वास्थ्य परीक्षण प्रणालीको ‘सिन्डिकेट’ अन्त्य हुने भएको छ।

विज्ञप्तिमा नेपाल सरकारबाट स्वीकृति प्राप्त वा सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाले तोकिएको कार्यविधिअनुसार सूचीकरणका लागि आवेदन दिन सक्ने उल्लेख गरिएको छ।

यसअघि वैदेशिक रोजगारीमा जाने कामदारले सरकारले तोकेका सीमित स्वास्थ्य संस्थाबाट मात्र परीक्षण गराउनुपर्ने व्यवस्था थियो। ती संस्थाले स्वास्थ्य परीक्षणबापत प्रतिव्यक्ति रु ६ हजार ६०० शुल्क लिने गरेका थिए।

नयाँ निर्णयसँगै अन्य स्वास्थ्य संस्थाहरू पनि सूचीमा समावेश हुन पाउने भएका छन्। यसले कामदारलाई स्वास्थ्य परीक्षण गराउन सहज, सुलभ र प्रतिस्पर्धी सेवा उपलब्ध हुने मन्त्रालयको विश्वास छ।

वैदेशिक रोजगार ऐन, २०६४ अनुसार विदेश जाने कामदारले नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था छ। साथै नियमावलीले सरकारी स्वामित्वका स्वास्थ्य संस्थाबाट पनि यस्तो सेवा दिन सकिने प्रावधान राखेको छ।