काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न एजेण्डामाथि छलफल आज पनि जारी रहने छ ।
पार्टी प्रवक्ता देवराज चालिसे अनुसार मंगलबारको बैठकमा सभापति गगन कुमार थापाले बैठकको प्रारम्भमै आफ्नो सन्देश राख्दै समसामयिक विषयमा विस्तृत धारणा प्रस्तुत गरिसकेका छन् । थापाले हिजोको बैठकको आगामी भदौ २४–२६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए ।
प्रवक्ता चालिसेका अनुसार बैठकका लागि ११ वटा एजेण्डा तय गरिएको छ, जुन यसअघि नै सार्वजनिक भइसकेको छ । ती प्रस्तावहरूमा हालसम्म २८ जना सदस्यहरूले आफ्नो धारणा राखिसकेको उनले बताए ।
‘बाँकी सदस्यहरूले आजको बैठकमा आफ्नो धारणा राख्नेछन् । बैठकमा महाधिवेशनसँग सम्बन्धित प्रस्तावसहित विभिन्न समसामयिक विषयमा पनि छलफल भइरहेको छ भने समसामयिक, सुशासन स्थापना, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनको बारेमा छलफल भइरहेको उनले बताए।