सांसदहरूको शपथलगत्तै रास्वपाले बालेन शाहलाई दलको नेता चयन गर्ने

सांसदहरूको शपथलगत्तै रास्वपाले बालेन शाहलाई दलको नेता चयन गर्ने

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह चैत्र १३ गते प्रधानमन्त्री नियुक्त हुँदैछन् । रामनवमीको अवसर पारेर शाहले शपथको समय रोजेका छन् । रास्वपाले एक्लै दुई तिहाईनजिकको बहुमत हाँसिल गरेकोले यसपटक संविधानको धारा ७६ को १ बमोजिम सरकार बन्दैछ । यसअघि संविधान २०७२ जारी भएपछि एकल बहुमत कसैको पनि आएको थिएन । यसपटक रास्वपाले एक्लै १८२ सिटमा जित निकालेको छ। प्रत्यक्षमा नै रास्वपाले १२५ सिट जितेको छ ।

समानुापातिकतर्फ उसले ५७ सिट जितेको छ । रास्वपाले वरिष्ठ नेता शाहलाई भावी प्रधानमन्त्री घोषणा गरेर चुनावमा भाग लिएकोले यो सफलता प्राप्त भएको चर्चा पनि छ । चैत्र १२ गते नवनिर्वाचित सांसदहरुको शपथग्रहण समारोह राखिएको छ । रास्वपाले सांसदहरुले शपथ खाएलगत्तै दलको नेतामा शाहलाई चयन गर्ने भएको छ ।

शाह यतिवेला आफू नेतृत्वको सरकारमा क–कसलाई सहभागी गराउने भनेर गृहकार्यमा जुटेका छन्। सभापति रवि लामिछाने र उपसभापतिद्धय डिपी अर्याल र स्वर्णिम वाग्लेसँग सरकार गठनबारे एकसरो छलफल गरेका शाहले यतिवेला आफ्नो कोर टिमसँग छलफल गरिरहेको बताइन्छ ।

शाहले आफूले प्रधानमन्त्रीको शपथ खाएकै दिन पूर्ण क्षमताको मन्त्रिपरिषद् विस्तार गर्ने बुझिएको छ । रास्वपाले आफ्नो वाचापत्रमा नै १८ सदस्यभन्दा नबढाउनेगरि मन्त्रिपरिषद् बनाउने घोषणा गरेको छ । शाहले त १५ सदस्यीय बनाउने तयारी गरेको बताइन्छ ।