पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौं। पाल्पाको तानसेन नगरपालिकामा हिजो साँझ भएको टिपर दुर्घटनामा गम्भीर घाईत चार जनाको उपचारको क्रममा मृत्यु भएको छ। जिल्लाको माथागढी गाउँपालिका ७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका १० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो। चिदीलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देहीमा पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार यसअघि अर्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक २६ वर्षीय चिन्ता बहादुर सुनारसहित सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको ज्यान गएको थियो।

झडेवाबाट रहबासस्थित चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिपर सडकबाट करिब १०० मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित चार जना घाइते भएका थिए। उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो।