काठमाडौं। अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको चलचित्र एक मुठी बादलः माई सेयर अफ स्काईको टिजर सार्वजनिक गरिएको छ। उनको जन्मदिनको अवसर पारेर सार्वजनिक टिजरमा आँचलले नै वाचन गरेको ‘पोम्पोईको फूल’ कवितालाई समेटिएको छ।
चलचित्रकी लेखक तथा निर्देशक सहारा शर्माका अनुसार, उक्त कविता आफ्ना हजुरआमाको सम्झनामा आधारित रहेको छ, जुन सम्पादनका क्रममा पुनःस्मृतिमा फर्किएपछि चलचित्रको महत्वपूर्ण अंग बनेको हो।
आँचलले चलचित्र आफ्नो जीवनसँग नजिक भएको बताउँदै यसलाई विशेष अनुभवका रूपमा लिएकी छन्। चलचित्रमा निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतमलगायत कलाकारको अभिनय छ।
चलचित्र अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा निकुन श्रेष्ठ रहेका छन्। गौंथली इन्टरटेनमेन्ट र मन प्रोडक्सनको सहकार्यमा बनेको चलचित्र नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ।