काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार प्रमाणपत्र प्रदान गरिने भएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले कानुनमा तोकिएको ‘क्लस्टर’ अनुसार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण गर्नेगरी तयारी सुरु भएको जानकारी दिए।
आयोगले सोमबार सार्वजिनक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीतर्फ ५७ सांसद निर्वाचित भएका छन्।
यसैगरी नेपाली कांग्रेसबाट २०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट नौ, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चार-चार जना सांसद निर्वाचित भएका छन्।
बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिएपछि सोही दिन प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाइने सहायक प्रवक्ता जिसीले बताए।
राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएपछि नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुल्ने जनाइएको छ।