मेरो उम्मेदवारी खारेज भयो भन्ने समाचार भ्रामक : आशिका तामाङ

मेरो उम्मेदवारी खारेज भयो भन्ने समाचार भ्रामक : आशिका तामाङ

काठमाडौं। रास्वपाकी नेतृ तथा धादिङ–१ बाट प्रतिनिधिसभाकी उम्मेदवार आशिका तामाङले आफ्नोविरुद्ध केही मिडिया हाउसहरुले ‘आशिका तामाङको उम्मेदवारी खारेज भयो’ भन्दै भ्रामक समाचार फैलाएको भन्दै ध्यानाकार्षण गराएकी छिन् । उनल ती समाचारमा कुनै सत्यता नभएको र आफ्नो उम्मेदवारी कायमै रहेको बताएकी छिन् ।

उनले आफूलाई बारम्बार विदेशी भन्दै लगाईएका आरोपहरु पनि निराधार रहेको बताएकी छिन् । उनले भनेकी छिन्–‘म यही देशको नागरिक हुँ, मलाई संविधानले भोट हाल्ने र उम्मेदवार बन्ने पूर्ण अधिकार दिएको छ । अन्तिम समयमा मलाई कमजोर बनाउन रचिएको यो षड्यन्त्रविरुद्ध मैले कानूनी उपचार खोजिसकेकी छु ।’

उनले लेखेकी छिन्–

आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू,

निर्वाचनको यो अन्तिम घडीमा मेरो विरुद्ध केही मिडिया हाउसहरूले ‘आसिका तामाङको उम्मेदवारी खारेज भयो’ भन्दै फैलाएको भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। म स्पष्ट पार्न चाहन्छु उक्त समाचारमा कुनै सत्यता छैन, मेरो उम्मेदवारी कायमै छ। मलाई बारम्बार ‘विदेशी’ भन्दै लगाइएका आरोपहरू निराधार छन्। म यही देशको नागरिक हुँ, मलाई संविधानले भोट हाल्ने र उम्मेदवार बन्ने पूर्ण अधिकार दिएको छ। अन्तिम समयमा मलाई कमजोर बनाउन रचिएको यो षड्यन्त्र विरुद्ध मैले कानूनी उपचार खोजिसकेकी छु। म तपाईँहरूकै छोरी(चेली र तपाईँहरुकै उम्मेदवार हुँ। त्यसैले कुनै पनि भ्रममा नपरी ढुक्क भएर मतदान गर्नुहोला। तपाईँको विवेकपूर्ण मतले नै परिवर्तन सम्भव छ।

सत्यको सधैँ विजय होस् !

उहीँ तपाईं हरुकै धादिङ क्षेत्र नं १ को उमेदवार

आसिका तामाङ