काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) लाई लक्षित गरेर निर्वाचनको तयारी र समग्र शान्ति सुरक्षा बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्च अधिकारीको टोली ललितपुरको विभिन्न दुर्गम क्षेत्रको मतदान स्थलको अनुगमन तथा निरीक्षणमा निस्किएको छ ।
उनीसँग गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेसहित उच्च अधिकारी सहभागी छन् ।
गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलका अनुसार निर्वाचन तयारी र सुरक्षा अवस्था बुझ्न उच्च अधिकारीको टोलीले आज ललितपुरका बुंमती, गोटिखेल, लेलेलगायत मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने भएको हो ।
निर्वाचन सुरक्षाको अनुगमन तथा समग्र निर्वाचनको वातावरणलाई ध्यान दिएर सम्बन्धित सुरक्षा निकाय र मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरी सुरक्षा निकायलाई निर्देशन दिने कार्यक्रम रहेको छ ।
यसअघि आइतबार गृहमन्त्री अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उच्च अधिकारीको टोलीलिले बाँकेको नेपालगन्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुगेर निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमन गरेको थियो ।
त्यस अवसरमा मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदाताहरूलाई ढुक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आव्हान गरेका थिए ।
त्यसअघि फागुन १५ गते गृहमन्त्री अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितको उच्च अधिकारी टोलीले दोलखा, ओखलढुङ्गा, मोरङ, रौतहट र पर्सामा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकारवालासँग छलफल र अन्तरक्रिया गरेको थियो ।
सरकारले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन सुरक्षा तथा मुलुकको समग्र शान्ति सुरक्षालाई मजबुद र प्रभावकारी बनाएको छ ।